अत्यधिक बिजुली कटौतीलाई घटाउन यमनमा सौर्य परियोजना सुरू

एडेन, यमन, ८ पुस । विद्युत् कटौती कम गर्न यमनले नयाँ सौर्य परियोजना स्थापना गर्ने भएको छ ।
यहाँको दक्षिणी बन्दरगाह शहर एडेनमा संयुक्त अरब इमिरेट्स युएई को सहयोगमा उक्त १२० मेगावाट क्षमताको परियोजना स्थापना गरिने यमनको विद्युत् मन्त्रालयले जनाएको हो । यसका लागि यमनले संयुक्त अरब इमिरेट्स युएई को राजधानी अबुधाबीस्थित नवीकरणीय ऊर्जा कम्पनी मस्दारसँग एडेनको सोलार पार्क निर्माण गर्न संयुक्त सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ ।

यस सम्झौता अन्तर्गत, मस्दारले सौर्य पार्कको ऊर्जा शहरको छिमेकमा वितरण गर्न प्रसारण लाइन र रूपान्तरण स्टेशनहरू पनि निर्माण गर्नेछ ।

एजेन्सीका अनुसार हस्ताक्षर समारोहमा एडेनका गभर्नर एडेन अहमद लामलासले नयाँ सौर्य फार्मले दिनको समयमा बिजुली उत्पादनको लागतलाई धेरै हदसम्म कम गर्नेछ र कार्बन डाइअक्साइड उत्सर्जन कम गर्न पनि योगदान हुनेछ ।

यमनका जनताका लागि संयुक्त अरब इमिरेट्स युएई ले विभिन्न क्षेत्रमा गरेको सहयोगको एडेनका गभर्नरले उच्च प्रशंसा गरे ।

द्वन्द्वग्रस्त देशको ध्वस्त पूर्वाधारको पुनस्र्थापनामा संयुक्त अरब इमिरेट्सको महत्वपूर्ण सहभागिता पनि समावेश छ ।

बितेका महिनाहरूमा, संयुक्त अरब इमिरेट्स रेड क्रिसेन्टले अरब विश्वको सबैभन्दा गरिब देश यमनका विभिन्न युद्धग्रस्त क्षेत्रहरूमा स्वास्थ्य परियोजनाहरू स्थापना गर्न आफ्नो मानवीय कार्यहरू विस्तार गरेको छ ।

सन् २०१४ मा गृहयुद्ध सुरु भएपछि हुथी विद्रोहीले देशको अधिकांश भूभाग कब्जा गरेको र राजधानी सानासहित सबै उत्तरी प्रान्तकब्जा गरेपछि साउदी समर्थित यमन सरकारले सन् २०१५ देखि एडेनबाट सत्ता चलाइरहेको छ ।