तिलगंगालाई विश्वविद्यालय बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

८ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तिलगगा अँखा केन्द्रका निर्देशक डा .सन्दुक रुइतबीच शनिबार भेटवार्ता भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले तिलगङ्गा आँखा केन्द्रलाई मानिक विश्वविद्यालयको रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।

डा. रुइतले तिलगंगा आँखा केन्द्रलाई विश्वविद्यालयका रुपमा विकास गर्न सरकारलाई आग्रह गरेका थिए । प्रधानमन्त्रीले पनि डा. रुइतको चाहना अनुसार विश्वविद्यालय बनाउन सहयोग गर्ने बताएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
‘मानित विश्वविद्यालय बनाउने विषय अत्यन्तै सकारात्मक छ’ भेटमा प्रधानमन्त्रीले भने, ‘यससम्बन्धी आवश्यक नीतिगत सुधारका लागि आवश्यक पहल हुन्छ ।’

डा. रुइतले हालैमात्र बहराइन सरकारले प्रदान गर्ने इसा अवार्ड पाएका थिए । प्रधानमन्त्री प्रचण्डले यो सम्मानले नेपालको शीर उँचो राखेको पनि बताए । ‘यो अवार्डले देशकै सम्मान बढाएको छ। नेपालमा अन्तर्राष्ट्रियस्तरका दक्ष जनशक्ति छन भन्ने सन्देश दिएको छ’ प्रधानमन्त्रीले भने, ‘मानवीय सेवाका लागि तपाईको योगदानको कदर देशकै कदर हो ।’

प्रधानमन्त्री प्रचण्डले आँखाको उपचारका लागि सरकारका तर्फबाट आवश्यक सबै सहयोग गर्नेसमेत प्रतिवद्धता व्यक्त गरेका उनको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा डा। रुइतले आँखा उपचारको क्षेत्रमा नेपालले नमुना काम गरेको बताउँदै मोतियाबिन्दुको उपचारका लागिसमेत नेपालमा नै औषधी उत्पादन गर्न सक्ने सम्भावना रहेको बताए ।