सुरज सिंह ठकुरीले हिमालय रोडिजको पाँचौं सिजनलाई होस्ट गर्ने

काठमाडौं । टेलिभिजन रियालिटी शो हिमालय रोडिजको पाँचौं सिजनलाई टीभी पर्सनालिटी तथा अभिनेता सुरजसिंह ठकुरीले होस्ट गर्ने भएका छन् । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ठकुरीसँग सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त अवसरमा सिजन(५ को औपचारिक घोषणा समेत भयो ।

आफूलाई होस्टको रुपमा परिचय दिंदै ठकुरीले पत्रकार सम्मेलनमा भने, ‘नेपालमा पछिल्लो समय अन्तर्राष्ट्रिय फ्रेन्चाइजको ट्रेण्ड छ । पहिलेदेखि नै यसको एक हिस्सा बन्न सकूँ भन्ने लागेको थियो । २२ वर्ष भयो टेलिभिजनमा काम गरेको । अहिलेसम्म आफैंले जन्माएको शो मात्र गरें । अब भने अरुकै निर्देशनमा काम गर्नेछु ।’
आफ्नो बुद्धि, ध्यान र मन यो कार्यक्रममा लगाउने भन्दै उनले रोडिजको नयाँ सिजनलाई चुनौतीको रुपमा लिएको बताए । पत्रकार सम्मेलनमा शो निर्देशक सिमोस सुनुवारले ठकुरीसँग काम गर्नुलाई आफ्नो भाग्यको रुपमा लिए । आफूहरुको मित्रता २० वर्षदेखिको बताउँदै सुनुवारले ठकुरीको प्रशंसा गर्दै भने, ‘उसको विश्वसनीयता, ट्वीस्ट एण्ड टन्र्स राम्रो छ ।’ हरेक सिजनलाई अघिल्लोभन्दा राम्रो बनाउनुपर्ने चुनौती रहेको र रोडिजका अघिल्ला श्रृंखलाभन्दा यसमा ‘एक्स्ट्रिम टास्क’ समावेश हुने उनले बताए ।
रोडिजलाई बडी बिल्डर र म्याचो मान्छेको मात्र शो मान्न नहुने भन्दै सुनुवारले शो सबै नेपाली जनताको भएको बताए ।

पत्रकार सम्मेलनमा पाँचौ सिजनको प्रोमो समेत सार्वजनिक गरियो जसमा होस्ट समेत रहेका ठकुरीलाई फिचर्ड गरिएको छ । ठकुरीले प्रस्तुत गरेका टीभी कार्यक्रमहरु कल कान्तिपुर, इट्स माइ शो चर्चित भए । कर्कश, नाइँ नभन्नु ल २ र ३, जंगे र समर लभ उनी अभिनित फिल्म हुन् ।

पत्रकार सम्मेलनमा हिमालय टीभीका महाप्रबन्धक जीएम गोविन्द ढकालले टेलिभिजनसँग आकर्षक र दर्शकको रुचिका आधारमा विश्वस्तरीय रियालिटी शो पाइपलाइनमा रहेको बताए । उनका अनुसार नयाँवर्ष २०८० सालको सुरुवातबाट हिमालय रोडिजको पाँचौं सिजनको प्रसारण योजना छ । अहिले हिमालय टीभीमा लोकस्टार प्रसारण भइरहेको छ भने भ्वाइस अफ नेपालको किड्स संस्करण सुरु हुने तयारीमा छ ।