संघलाई दुर्घटनाबाट जोगाउन राजीनामा दिएको हुँ : प्रशान्तविक्रम मल्ल

काठमाडौं । नेपाल क्रिकेट संघ क्यान का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले मङ्गलवार पदबाट राजीनामा दिएका छन् ।
निवर्तमान सचिव अशोक प्याकुरेलले राजीनामा दिएपछि कार्यवाहकको जिम्मेवारी मल्ले पाएका थिए ।

नेपाल टी–२० लिगमा गभर्निङ काउन्सिलको अध्यक्ष समेत रहेका मल्ले विभिन्न विवादपछि मङ्गलवार क्यानको बोर्ड बैठकमा राजीनामा बुझाएका थिए । र, उनको राजीनामा बैठकले स्वीकार गरेको थियो ।

राजीनामा दिएपछि उनले संघ दुर्घटनाबाट जोगाउन आफूले राजीनामा दिएको बताए ।

‘विभिन्न विवाद आए । संघ दुर्घटनामा जाला जस्तो स्थिति आयो मैले राजीनामा दिएर संघ दुर्घटनाबाट जोगिन्छ भने म अझै कयौँ पटक यस्ता पदबाट राजीनामा दिन सक्छु । संघको जिम्मेवार व्यक्ति भएपछि यसलाई सफल अवतरण गराउने जिम्मा हुन्छ । त्यही जिम्मेवारी निभाउन मैले राजीनामा दिएको हुँ,’ उनले भने।

मल्लको राजीनामा सँगै क्यानका केन्द्रीय सदस्य दुर्गाराज पाठकले सचिव पदको जिम्मेवारी पाएका छन् ।