कसरी जोगाउने? किन पड्किन्छ मोबाइल?

काठमाडौं । स्मार्टफोन पड्किने घटना यदाकदा सुनिए पनि आजकल यो विरलै हुने घटना हो ।

स्मार्टफोन कम्पनीहरुले आफ्ना फोनलाई बढि भन्दा बढि सुरक्षित गराउने प्रयत्न गरे पनि प्रयोगकर्ताको लापरबाही तथा अन्य विद्युतजन्य कारणहरुले बेलाबेलामा फोन पड्किने घटना सुन्ने गरिन्छ ।
आखिर मोबाइल फोन किन पड्किन्छ 

यसका विभिन्न कारण हुनसक्छन् । फोन पड्किनुको एउटा प्रमुख कारण चाहीँ यसको ब्याट्री हो । आधुनिक स्मार्टफोनमा लिथियम आयोन ब्याट्री हुन्छन् जसमा धनात्मक र ऋणात्मक इलेक्ट्रोडका बीचमा सटिक सन्तुलन कायम गरिएको हुन्छ र सजिलैसँग चार्ज गर्न पनि सकिन्छ 
यदि केही गडबडी भयो भने ब्याट्री भित्रका अवयवहरुबीचमा रसायनिक प्रतिक्रिया हुनगई ब्याट्री पड्किन सक्दछ ।

ब्याट्री कसरी क्षतिग्रस्त हुन्छ ?

स्मार्टफोनको ब्याट्रीमा क्षति पुग्ने विभिन्न कारणहरु हुन्छन् । त्यसमध्ये प्रमुख कारण चाहीँ अत्यधिक तापमान हो । चार्ज भैरहेको ब्याट्री वा अत्यधिक काम गरिरहेको प्रोसेसर छिटै बढि तातो भयो भने फोनको रसायनिक संरचना नै बिग्रिन्छ ।

ब्याट्रीमा हुने थर्मल रनअवे भनिने श्रृंखला प्रतिक्रियाले ब्याट्रीमा झनै बढि ताप पैदा गर्दछ । जसका कारण फोनमा आगो लाग्ने वा पड्किने समेत हुन सक्दछ ।

फोन बढि तात्नुका विभिन्न कारणहरु हुन सक्दछन् । फोनमा हुने भौतिक क्षतिले समेत ब्याट्रीको आन्तरिक कार्यलाई बिगार्न सक्दछ । फोनलाई धेरै बटार्दा तथा फोन भुईँमा खस्नाले पनि यस्तो क्षति हुनसक्छ । स्मार्टफोन बढि तात्नुका अन्य विभिन्न कारणहरुमा लामो समयसम्म फोनलाई घाममा राख्ने, फोनमा भाइरसको आक्रमण भएको अवस्था तथा कमसल चार्जरले फोन चार्ज गर्दा करेन्ट प्रवाहमा असन्तुलन आदि हुन सक्दछन् । यसले फोनभित्र सर्ट सर्किट गराउन सक्दछ र फोन विस्फोट हुने जोखिम हुन्छ ।

फोन तात्नुका केही यस्ता कारण पनि हुन्छन् जो प्रयोगकर्ताको नियन्त्रणभन्दा बाहिर हुन्छन् । धेरै वर्षदेखि प्रयोगमा रहेका फोनहरुको भित्री पाटपुर्जा पनि आफै कमजोर भैसकेका हुन्छन् । जसका कारण फोनको ब्याट्री फुलिने तथा तात्ने हुनजान्छ । कहिलेकाहीँ स्मार्टफोन निर्माणको क्रममा कारखानामै हुने त्रुटी तथा कमसल पाटपुर्जाका कारण समेत फोन तात्ने हुनसक्छ ।

फोन पड्किनु अगाडि आउँछन् संकेत?

कुनै पनि फोन पड्किनु अगाडि त्यस्तो कुनै खास चेतावनीको संकेत दिने भन्ने हुँदैन । तथापि फोनबाट प्लास्टिक वा केमिकल जलेको जस्तो गन्ध आउनु, तथा फोनबाट घात्राक घुत्रुक र पिटिक पिटक गरेको आवाज आउनुपनि फोन पड्किन लागेका संकेत हुन् ।

यी सूचकहरुले फोनलाई अब राम्रोसँग हेरचाह गरिएन भने क्षतिग्रस्त हुन थालेको वा पड्किन थालेको संकेत गर्दछन् । त्यस्तै चार्ज गर्दा फोन धेरै तात्ने भयो भने पनि फोन पड्किन सक्छ । यदि फोन चार्ज गर्दा केही डढेजस्तो भयो वा तातेर आवाज आउन थाल्यो भने तत्कालै चार्जबाट निकाल्नु पर्दछ ।

फोनको ब्याट्री फुल्नु पनि फोन पड्किन सक्ने संकेत हो । ब्याट्रीको भित्री भागमा क्षति पुगेको वा बिग्रिएको क्षयिकरण भएको अवस्थामा नै ब्याट्री फुलिने गर्दछ । त्यस्तै स्मार्टफोनको स्क्रिनमा चुच्चो बन्नु, फोन मोटो हुँदै जानु, समतल सतहमा फोन राख्दा राम्रोसँग नअडिनु आदि संकेतहरु देखिए पनि सचेत बन्नुपर्दछ ।

यदि तपाईंलाई आफ्नो फोनको ब्याट्रीमा गडबडी आएको छ भन्ने लाग्यो भने स्मार्टफोनको आधिकारिक सर्भिस सेन्टरमा लगेर जाँच र मर्मत गराइहाल्नुस् ।

फोनलाई पड्किनबाट कसरी जोगाउने ?

फोनलाई कतै खस्दा वा ठोक्किँदा भौतिक क्षतिबाट जोगाउन खोलमा राख्ने गर्नुहोस् ।
प्रत्यक्ष सूर्यको घाम तथा बाहिरको तापक्रममा फोनलाई राख्नुहोस् ।
आफू सुत्ने ठाउँ अर्थात् हिटर बालेको तातो कोठामा धेरैबेरसम्म फोन चार्ज नगर्नुहोस्
फोनको ब्याट्रीलाई स्वस्थ राख्नका लागि ३० देखि ८० प्रतिशत मात्र चार्ज गर्ने । फोनको चार्ज नरित्याउने र बढि चार्ज पनि नगर्ने । रातभर फोनलाई चार्जमा छाड्ने नगर्नुहोस्
फोन चार्ज गर्नका लागि सक्कली चार्जर वा केवल प्रयोग गर्ने । कमसल चार्जर र केवल प्रयोग नगर्ने
फोनमा ब्याट्री फेर्नुपर्दा कमसल ब्याट्री नराख्नुहोस् । सक्कली तथा ब्राण्डेड ब्याट्री हाल्नुुहोस्
फोनमा ओस वा पानी पर्नबाट जोगाउनुहोस्
फोन चार्जिङ भैरहेको बेलामा फोनमा इन्टरनेट चलाउने वा फोनकल गर्ने नगर्नुहोस्
फोनलाई सिरकभित्र वा सिरानीमुनि राखेर सुुत्ने नगर्नुहोस् । यसले फोन तात्नसक्छ ।
फोन कुनै कारणले तातेको छ भने नचलाउनुहोस् र फोन चिसो हुन्जेलसम्म छाड्नुहोस् ।
एजेन्सीको सहयोगमा

एसईई आजदेखि सुरु हुँदै