एर्लिङ हालान्डले कीर्तिमानहरु ब्रेक,बन्न सक्लान् युरोपकै उत्कृष्ट खेलाडी ?

काठमाडौं । इङ्लिस फुटबलमा अविश्वनीय डेब्यु सिजन बिताइरहेका एर्लिङ हालान्डले कीर्तिमानहरु ब्रेक गरिरहेका छन् ।

म्यानचेस्टर सिटीका स्ट्राइकरले यस सिजनमा अहिलेसम्म २७ लिग खेलमा २८ गोल गरेका छन् । यस्तै सबै प्रतियोगितामा ४२ गोल गरेका छन् ।

उनी प्रिमियर लिग खेलाडीका लागि दुवै रेकर्ड तोड्ने बाटोमा अगाडि बढिरहेका छन् ।

हालान्ड कुन कुन रेकर्ड तोड्ने बाटोमा छन् र युरोपमा एक सिजनमा सबैभन्दा उत्कृष्ट फरवार्ड बन्न कत्तिको नजिक छन् ? यस विषयमा बीबीसी स्पोर्ट्सले तयार पारेको सामग्रीको सम्पादित अंश :

प्रिमियर लिगको रेकर्ड कसको नाममा छ ?

एउटै प्रिमियर लिगमा सबैभन्दाधेरै गोलको कीर्तिमान पहिलो पटक एन्डी कोलले १९९३-९४ सिजनमा बनाएका थिए । न्युकासल युनाइटेडका लागि उनले लिगमा ३४ गोल गरेका थिए । त्यसको अर्को सिजन ब्ल्याकबर्न रोभर्सलाई लिग जिताउने क्रममा एलान सियररले यो कीर्तिमान बराबरी गरेका थिए ।

तर, दुवै खेलाडीले यो उपलब्धी लिगमा २२ टोली हुँदा बनाएका थिए । जतिबेला ४२ खेल हुन्थ्यो । लिगमा २० टिम बनाएपछि र सिजनमा ३८ खेल हुन थालेपछि कसैले पनि यो कीर्तिमान तोड्न वा बराबरी गर्न सकेका छैनन् ।

त्यसको सबैभन्दा नजिक पुगेका छन् भने त्यो लिभरपुलका फरवार्ड मोहम्मद सलाह छन् । उनले २०१७-१८ सिजनमा ३२ गोल गरेका थिए ।

हालान्डले आफ्नो पछिल्ला ११ प्रिमियर लिग खेलमा सात गोल गरेका छन् ।

अब बाँकी ११ खेलहरुबाट हालान्डले कम्तीमा सलाहको कीर्तिमान बराबरी गर्न ४ गोल थप्नु पर्नेछ ।

कोलर सियररको कीर्तिमान बराबरी गर्न ६ गोल गर्नुपर्नेछ ।

हालान्ड प्रिमियर लिगका खेलाडीको रुपमा एक सिजनमा सबै प्रतियोगितामा सर्वाधिक गोल गर्ने कीर्तिमानको नजिकसमेत पुगेका छन् ।

उनले ३७ खेलमा ४२ गोल गरिसकेका छन् । जुन सलाह र रोविन भान पर्सीको ४४ गोल भन्दा २ गोलले मात्र पछि हो ।

नि: सन्देह रुपमा भन्दा प्रिमियर लिग हुनुभन्दा धेरै पहिले नै फुटबल अस्तित्वमा थियो । इंग्लिस फुटबलको शीर्ष डिभिजनमा धेरै गोल गर्ने कीर्तिमान डिक्सी निक्सनसँग छ । उनले १९२७-२८ मा एभरटनका लागि ६० गोल गरेका थिए ।

समग्रमा डिनले सबै प्रतियोगितामा गरी ६३ गोल गरेका थिए । १९८६-८७ को सिजन क्लाइभ एलेनले टोटनहमका लागि ४९ गोल गरेका थिए । ३६ वर्षसम्म यो कीर्तिमान तोडिएको छैन ।

युरोपका शीर्ष लिगहरूको कीर्तिमान के छ ?

इंग्ल्याण्डमा पूरा गर्नुपर्ने लक्ष्य छँदैछ । तर हालान्डले युरोपमा सिजनकै सबैभन्दा उत्कृष्ट स्ट्राइकर बन्नका लागि अझै केही गर्नु पर्नेछ ।

अर्जेन्टिनाका स्टार लिओनल मेसीले २०११-१२ को सिजनमा लिग र सबैखाले प्रतियोगितामा गरी सानदार कीर्तिमान बनाएका थिए । बार्सिलोनाका लागि मेसीले ला लिगामा ५० गोल गरेका थिए भने उक्त सिजन सबै प्रतियोगितामा गरी ७३ गोल गरेका थिए ।

त्यस सिजन मेसीले जर्मनीका गर्ड मुलरको ६७ गोलको कीर्तिमान तोडेका थिए । जुन ३९ वर्षपछि तोडिएको थियो ।

हालान्डले सबै प्रतियोगितामा गरी ४२ गोल गरेका छन् । हालान्डले आरामले ५० गोलको आकडा पार गर्न सक्नेछन् ।

मेसी र क्रिस्टियानो रोनाल्डोले धेरैपटक एक सिजनमा एकै सिजन ५० वा सोभन्दा बढी गोल गरेका छन् ।

रोनाल्डोको आफ्नो उत्कृष्ट सिजन २०१४-१५ मा सबै प्रतियोगिता गरी ६१ गोल गरेका थिए । लुइस सुआरेज, ज्लाटन इब्राहिमोभिच र रोबर्ट लेवान्डोस्कीले पनि एकै सिजनमा ५० भन्दा बढी गोल गरेका थिए ।

सुआरेजले सन् २०१५-१६ मा बार्सिलोनाका लागि ५९ गोल गरेका थिए, इब्राहिमोभिचले पेरिस सेन्ट जर्मेनका लागि सोही सिजनमा ५० गोल गरेका थिए ।

लेवान्डोस्कीको २०१९-२० मा बायर्न म्युनिखमा हुँदा ५५ गोल गरेका थिए । जुन उनको व्यक्तिगत उत्कृष्ट हो ।

त्यसो भए हालान्डले कति गोल गर्लान् ?

प्रिमियर लिगमा हालान्डको गोल प्रति खेल अनुपात १.०८ छ । लिगका बाँकी ११ खेलमा यो अनुपात कायम राखेमा उनले लिगमा ४० गोल पूरा गर्न सक्छन् ।

यो त्यस्तो कीर्तिमान हो जुन इंग्लिस शीर्ष लिगको १३३ वर्षको इतिहासमा सात पटक मात्र भएको छ । जिमी ग्रीभ्सले १९६०-६१ मा चेल्सीका लागि ४१ गोल गरेका थिए ।

मेसीले सबै प्रतियोगितामा गरेको ७३ गोलको कीर्तिमान तोडिएला ? के हालान्डले मेसीलाई पछि पार्न सक्छन् ?

प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिग गरी हालान्डले यस सिजन १८ खेल खेल्न बाँकी छ । नर्वेजियन फरवार्डले सबै प्रतियोगितामा गरी प्रति खेल ओसत १.१४ को अनुपातमा गोल गर्दै आएका छन् ।

यदी उनले यसलाई कायम राख्न सके यस सिजनमा अझै २० गोल गर्न सक्छन्, यसो भएमा उनको कुल गोल संख्या ६० भन्दा माथि पुग्नेछ । एकै सिजन ७३ गोल गर्ने मेसीको कीर्तिमान कायम रहने सम्भावना छ । तर प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका हालान्ड अर्को सिजन कुन उचाइमा पुग्लान् भनेर कसलाई थाहा होला ?

पन्जाबद्धारा गुजरात पराजित