ईस्कोन विराटनगरमा श्री जगन्नाथ रथयात्रा महामहोत्सव सम्पन्न

विराटनगर  ईस्कोन विराटनगरमा श्री जगन्नाथ रथयात्रा महामहोत्सव सम्पन्न भएको छ।  गणेशप्रसाद राठीको संयोजकत्वमा सम्पन्न यस रथयात्रा विश्व प्रसिद्ध गुरु तथा भूतपूर्व आर्मी कमान्डर स्वामी पत्री दास प्रभुजी,  नेपाली युवामा आधुनिक इन्जिनियर गुरु भनेर लोकप्रिय श्रद्धय रुपेश्वर गौर प्रभुजीको पनि विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि पञ्चाली लक्ष्मी नारायण मन्दिरका महन्त स्वामी अच्युत प्रपन्नचार्य ज्यूले वैदिक सनातन धर्मको रक्षार्थ इस्कोनले महत्त्वपूर्ण भूमिका खेलेकामा प्रशंसा गरे । ईस्कोन नेपालका अध्यक्ष परमेश्वर अचुदासले विराटनगर धार्मिक ऐतिहासिक सहर भएको उल्लेख गर्दै जगन्नाथ रथयात्राले यस नगरीको महाभारतकालीन गरिमालाई पुनर्जागरण गर्ने विश्वास व्यक्त गरे। वरिष्ठ चिकित्सक डाक्टर मदन कोइरालाले यस रथयात्राको प्रमुख सल्लाहकारको भूमिका निर्वाह गरे ।

प्रसिद्ध ४ धामहरूमध्ये एक श्री जगन्नाथपुरी धाममा विराजमान भगवान् जगन्नाथको रथयात्रालाई संसारका प्रत्येक गाउँ सहरमा पुर्‍याउने क्रममा सम्पूर्ण विराटनगरवासी आध्यात्मिक लाभका निम्ति नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (ईस्कनले) यस रथयात्रा आयोजना गरेको हो।  ईस्कोनले हालसम्म ७८ भन्दा बढी देशमा जगन्नाथ रथयात्रा आयोजना गर्दै आइरहेको छ। नेपालमा पनि हालसम्म बागमती, मधेस, लुम्बिनी, कोशी प्रदेशका दर्जनौँ स्थानहरूमा रथयात्रा आयोजना भइरहेको छ। विभिन्न कारणवश मन्दिरमा गई भगवानको दर्शन गर्न असमर्थ भक्तजनहरु लाई दर्शन दिन रथयात्राको समयमा स्वयं भगवान् जगन्रनाथलाई सवार गराई नगर परिक्रमा गराइन्छ। यस पावन अवसरमा आफ्नै घर दैलोबाट नै भगवानको दिव्य दर्शन तथा भगवानलाई अर्पण गरिएको प्रसाद ग्रहण गर्ने सुवर्ण अवसर मिल्छ। पौराणिक महत्त्व अनुसार भगवान् जगन्नाथको रथको दर्शन मात्र गर्नाले पनि सांसारिक कलेसबाट मुक्त भई जन्म मृत्युको चक्रबाट पार पाउन सकिन्छ।