पैदल हिंडेका मिटरब्याज पीडित २३ दिनपछि आइपुगे काठमाडौं

काठमाडौं झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट पैदल हिंडेका मिटरब्याज पीडित २३ दिनपछि काठमाडौं आइपुगेका छन् । बुधबार साँझ उनीहरु पश्चिमी नाका थानकोटबाट काठमाडौं प्रवेश गरेका हुन् ।

मिटरब्याजविरुद्ध किसान मजदुर संघर्ष समितिको समन्वयमा एउटा समूहले झापाबाट र अर्को समूहले महेन्द्रनगरबाट पैदलयात्रा सुरु गरेको थियो । दुवै टोली चितवनमा भेट भएर सँगै काठमाडौं आएको हो ।

बुधबार काठमाडौं आइपुगेका उनीहरु चन्द्रागिरि नगरपालिका थानकोटस्थित त्रिभुवन पार्कमा बास बस्नेछन् ।सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि कानुन संशोधन र जाँचबुझ आयोग गठन गरे पनि आफूहरुको समस्या समाधान नभएको भन्दै मिटरब्याज पीडितहरु पुनः न्याय खोज्दै काठमाडौं आएका हुन् ।उनीहरुले आफूहरु विरुद्ध मिटरब्याजीको धरपकड नरोकिएको, फर्जी तमसुकको आधारमा जग्गा हडप्ने काम भइरहेको, अदालतमा मुद्दा चलिरहेको र मिटरब्याज पीडितहरु जेल जाने अवस्था अन्त्य नभएको बताएका छन् ।