लगानी सम्मेलनको दोस्रो दिन दुई वटा दुईपक्षीय सम्झौता

काठमाडौँ  लगानी सम्मेलनको दोस्रो दिन दुई वटा दुईपक्षीय सम्झौता (एमओयू) भएको छ । सम्मेलनमा आज होटलसँग सम्बन्धित र सार्वजनिक निजी साझेदारीसँग सम्बन्धित विषयमा एमओयू भएको हो । नेपालको शाख समूहले हङकङको बोर होटलसँग एमओयू गरेको छ ।

यस्तै नेपाल एसोसिएसन अफ सार्वजनिक निजी साझेदारी (एनएपीपीपी) र वर्ल्ड एसोसिएसन अफ अफ पीपीपी युनिट एण्ड पीपीपी प्रोफेसनल (वाप्प)बिच समेत एमओयू सम्झौता भएको हो । सम्झौताअनुसार बोर होटलले नेपालको कपिलवस्तुमा होटलमा लगानी गर्ने छ । उक्त होटलमा चीनबाट करिब १ अर्ब ९० करोड रुपैयाँ लगानी आउनेछ ।

यस्तै सार्वजनिक निजी साझेदारीसँग सम्बन्धित सम्झौतासँगै नेपालमा सार्वजनिक निजी साझेदारी विषयमा अध्ययन तथा सहकार्य हुनेछ । यो सम्झौतामा नेपालको एसोसिएनसनको अध्यक्ष र वाप्पको अध्यक्षले हस्ताक्षर गरे । यससँगै दुई दिनको लगानी सम्मेलनका क्रममा आजसम्म कूल ५ वटा एमओयू सम्झौता भएको छ ।

सम्मेलनको पहिलो दिन तीनवटा एमओयू सम्झौता भएको थियो । जसमध्ये नेपाल उद्योग वाणिज्य महासंघ र मलेसियाको चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजबिच दुई सम्झौता भएको थियो । यी दुई व्यापारिक छाता संगठनले आपसी सहकार्य र उद्योग तथा लगानी स्थापनासँग सम्बन्धित एमओयू गरेका थिए ।

यसपछि हिजो नै सूचना तथा प्रविधिसँग सम्बन्धित विषयमा एमओयू भएको थियो । सो सम्झौताअनुसार रामकोटमा साढे ३ अर्ब रुपैयाँभन्दा बढी लागतको डाटा सेन्टर स्थापना हुनेछ । सो सम्झौता भारतको योट्टा डेटा सर्भिसेज र नेपालको बीएलसी होल्डिङबिच भएको हो । सम्झौताअनुसार नेपालमा सुपरक्लाउड डाटा सेन्टर स्थापना हुनेछ ।