आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौं- आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । विश्वका मजदूरहरुले आफ्नो अधिकार प्राप्तिको लागि गरेको संघर्षले जित हासिल गरेको दिन । अहिलेको मजदुर दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदैछ ।

मर्यादित काम र मुनासिब ज्यालाको अधिकार स्थापनाका लागि हालसम्म भएका आन्दोलन र उपलब्धिलाई यस दिवसले स्मरण गराउँदै मजदुरका पक्षमा लाग्न प्रेरित गर्नेछ । नेपालको संविधानले नागरिकको रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको छ ।

नेपालमा पनि मे डे विभिन्न कार्यक्रमको आयोजना गरेर मनाईंदैछ । आजै मजदूर दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय कमिटीले  भृकुटीमण्डपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख अतिथ्यमा विशेष कार्यक्रम आयोजना गर्दैछ । समारोहअघि नयाँ सडकबाट र्यालीको आयोजना गरिने समितिका महासचिव प्रेमप्रसाद खनालले जानकारी दिनुभयो । सन् १८८१ मे १ मा अमेरिकामा भएको आम हडतालको स्मरणमा दिवसको थालनी भएको हो ।