१९ सय ९८.९६ अंकमा झर्‍यो नेप्से

काठमाडौँ लगातार तीन दिन बढेको नेप्से सूचक अन्तिम कारोबार दिन ७ अंकमाथिले घट्दै बन्द हुन पुगेको छ । साताको अन्तिम कारोबार दिन समेत रहेको बिहीबार नेप्से सूचक ७.३१ अंकले घट्दै १९ सय ९८.९६ अंकमा झरेको हो । 

तर अघिल्लो तीन दिन खुलेको बजारमा नेप्से सूचक ४० अंकले बढेको थियो । तथापि, ७ अंकमाथिले नेप्से सूचक घटेको यस दिन पनि झण्डै सवा ४ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार माइक्रोफाइनान्स र ट्रेडिङ समूहको उपसूचक बाहेक ११ वटा उपसूचक ऋणात्मक भएका छन् । डेभलपमेन्ट बैंक समूह २.०३ प्रतिशतले घट्दा हाइड्रोपावर समूह १.११ प्रतिशतले घटेको छ । अरु उपसमूहको उपसूचक १ प्रतिशत कमले घटेका छन् ।  तर, यता माइक्रोफाइनान्स समूहको उपसूचक ३.४५ प्रतिशतले बढ्दा ट्रेडिङ समूहको उपसूचक आज ०।०६ प्रतिशतले मात्र बढेको छ । बिहीबार तीनवटा कम्पनी समता घरेलु लघुवित्त वित्तीय संस्था, इनफिनिटी लघुवित्त संस्था र साधना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने पिपुल्स पावर लिमिटेडको सेयर मूल्य ८.२१ प्रतिशतले घट्न पुगेको छ ।