दैलेखको दुल्लुमा नबिल बैंकको नयाँ शाखा विस्तार

काठमाडौं नबिल बैंक लिमिटेडले दैलेखको दुल्लुमा नयाँ शाखा विस्तार गरेको छ । २६८औं शाखाको रूपमा दुल्लु नगरपालिकामा शुक्रबारदेखि नयाँ शाखा सञ्चालनमा आएको बैंकले जनाएको छ ।

योसँगै नबिल बैंक दुल्लु नगरपालिकामा बैंकिङ सेवा दिने पहिलो निजी बैंक बन्न पुगेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । देशको अग्रणी वाणिज्य बैंक नबिलले जनतामा वित्तीय पहुँच बढाउन विभिन्न ठाउँमा सेवा विस्तार गर्दै आएको छ ।

दुल्लु नगरपालिका प्रमुख भरतप्रसाद रिजालले नबिल बैंकको शाखा सञ्चालनमा आएसँगै स्थानीयलाई वित्तीय सेवा लिन निकै सहयोग पुग्ने बताए । नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मनोज ज्ञवालीले ऐतिहासिक महत्त्व बोकेको दुल्लु क्षेत्रमा नयाँ शाखा सञ्चालमा ल्याउन पाएको भन्दै खुसी व्यक्त गरे । बैंकले डिजिटल सेवाका साथै सम्पूर्ण सुविधा प्रदान गर्न प्रतिबद्ध रहेको उनले बताए ।

नयाँ शाखा उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्थानीय उद्यमी व्यवसायी तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।