हाउसफुल ५ मा अभिषेक बच्चनको पनि हिस्सा रहने

काठमाडौँ  हाउसफुल फ्रेन्चाइजीका चार वटा  फिल्म निकै सफल रहे । मेकरहरु अब यसको पाँचौँ फिल्म बनाउने तयारीमा छन् । 

फिल्ममा यसअघि नै अक्षय कुमार र रितेश देशमुखलाई कास्ट गरिसकेको छ । फिल्ममा अभिषेक बच्चनको पनि इन्ट्री भएको छ । हालै फिल्मका निर्माता साजिद नाडियाडवालाले अभिषेक बच्चनको कास्टिङको आधिकारिक घोषणा गरेका छन् । ‘अभिषेक बच्चन फेरि हाउसफुल परिवारको हिस्सा बनेको कुरा बताउन पाउँदा हामी निकै खुसी छौँ,’ उनले अभिषेकको तस्बिर शेयर गर्दै लेखेका छन् ।

कहिलेबाट हुनेछ फिल्मको छायांकन ?

फिल्म हाउसफुल ५ को छायांकन अगस्टदेखि बेलायतमा सुरु हुने भएको छ । ‘हाउसफुल मलाई सबैभन्दा बढी मनपर्ने कमेडी फ्रेन्चाइजी मध्ये एक हो र यसमा सामेल हुनु भनेको घर फर्कनु जस्तै हो,’ फिल्ममा आबद्ध भएपछि अभिषेक बच्चनले फिल्मफेयरसँग भने । साजिद नाडियाडवालासँग जोडिनु उत्कृष्ट अनुभव भएको र आफू अक्षय कुमार र रितेशसँग सेटमा मस्ती गर्न उत्सुक रहेको पनि उनले बताए ।

हाउसफुल ५ लाई तरुण मनसुखानीले निर्देशन गर्दैछन् । यसअघि उनले अभिषेक बच्चनको फिल्म दोस्ताना निर्देशन गरेका थिए । फिल्म हाउसफुल ५ नाडियाडवाला ग्रान्डसन इन्टरटेनमेन्टको ब्यानरमा साजिद नाडियाडवालाले निर्माण गर्न लागेका हुन् । फिल्म आगामी वर्षको जुन ६ मा रिलिज गर्ने तयारी भइरहेको छ ।