अन्तर्राष्ट्रिय सगरमाथा दिवस सगरमाथाको फेदीमा मनाइदै

काठमाडौं सरकारले अन्तर्राष्ट्रिय सगरमाथा दिवस सर्वोच्च शिखर सगरमाथाको फेदीमा मनाउने भएको छ । आगामी जेठ १६ गते १७ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस सगरमाथा क्षेत्रमै मनाउने तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमनत्री हितबहादुर तामाङले जानकारी दिए । 

मन्त्रालयमा आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले यो वर्ष सगरमाथाको फेदीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन लागिएको बताए । पर्यटनमन्त्री तामाङले भने, “हामीले यो पटक प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा सगरमाथाकै फेदीमा गएर अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने सोच अनुरुप आवश्यक तयारीमा जुटिरहेका छौँ ।” यद्यपि, सगरमाथाको कुन क्षेत्रमा दिवसको कार्यक्रम गरिने भन्ने अहिले यकिन भइनसकेको मन्त्रालयले जनाएको छ । दिवसलाई भव्य रुपमा सफल पार्न पर्यटनमन्त्री तामाङको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ । उक्त समितिमा सातै प्रदेशका पर्यटनमन्त्री र सचिव रहेका छन् । समितिको पहिलो बैठकले दिवसको तयारीबारे प्रारम्भिक छलफल गरेको मन्त्री तामाङले जानकारी दिए । दिवस तयारी उपसमितिले काम गरिरहेको छ । सन् १९५३ मे २९ तारिखका दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेका थिए । सोही आरोहणलाई स्मरण गर्दै सन् २००८ देखि सगरमाथा दिवस मनाउन थालिएको हो ।







आज अन्तर्राष्ट्रिय श्रमिक दिवस