वेस्ट इन्डिज सँग नेपाल पराजित

काठमाडौँ  वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो टी–२० क्रिकेटमा बुधबार घरेलु टोली नेपाल पराजित भएको छ । कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा भ्रमणकारी टोली वेस्ट इन्डिजले नेपाललाई ७६ रनले हराएको हो ।

जितसँगै वेस्ट इन्डिजले पाँच खेलको शृङ्खलामा २–१ को अग्रता लिएको छ । शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई चार विकेटले हराएको थियो । दोस्रो खेलमा भने वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो । शृङ्खलाको चौथो खेल बिहीबार खेलिने छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको वेस्ट इन्डिजले निर्धारित ओभरमा तीन विकेट गुमाएर दुई सय २७ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले भने १९.२ ओभरमा अलआउट हुनुअघि एक सय ५१ रनमात्र बनाउन सक्यो ।

तेस्रो खेलमा नेपालले बलिङ र ब्याटिङ दुबैमा निराशाजनक प्रदर्शन गर्‍यो । ठुलो विजयलक्ष्य पछ्याएको नेपालका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । नेपालका लागि तल्लो क्रमका ब्याट्सम्यान करण केसीले २८ रन बनाए । ओपनर ब्याट्सम्यान लोकेश बमले पनि २८ रन बनाए । कुशल मल्ल २० रन बनाउँदै आउट भए । ओपनर विनोद भण्डारी पनि १९ रनभन्दा अगाडि बढ्न सकेनन् । अनिल साहले १४ रन जोडे । नेपालका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । नपालले अतिरिक्त रूपमा पनि १४ रन पाएको थियो । वेस्ट इन्डिजका बलर ह्याडेन वाल्सले तीन विकेट लिए । गुडाकेश मोटीले पनि दुई विकेट हात पारे । म्याथ्यू फोर्ड, ओबेड म्याकोय र फाबिन एलनले पनि एक–एक विकेट लिए । नेपालका दुई ब्याट्सम्यान रन आउट भएका थिए । त्यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि ओपनर जोन्सन चार्लसले उत्कृष्ट शतकीय पाली खेलेका थिए । उनले अविजित रहँदै टोलीका लागि अविजित एक सय १९ रनको योगदान गरेका थिए । प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका जोन्सनले केवल ६१ बलको सामना गरी सात छक्का र १३ चौका पनि हिर्काए ।

जोन्सन नेपाली भूमिमा खेलिएको क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो क्यारेबियन खेलाडी बनेका छन् । जोन्सन चार्लसले वेस्ट इन्डिजको सिनियर टोलीबाट पनि विभिन्न प्रतियोगिता खेलिसकेका छन् । यसअघि खेलिएको पहिलो र दोस्रो टी–२० खेलमा वेस्ट इन्डिजका कुनै पनि ब्याट्सम्यानले शतक बनाउन सकेका थिएनन् । नेपाली टोलीका कप्तान रोहित पौडेलले भने वेस्ट इन्डिजविरुद्धको पहिलो खेलमा शतक र दोस्रो खेलमा अर्धशतक बनाएका थिए । बुधबारको खेलमा वेस्ट इन्डिजका लागि तेस्रो नम्बरका ब्याट्सम्यान आन्द्रे फ्लेचरले पनि अर्धशतकीय पाली खेले । उनले टोलीको खातामा ५३ रन थपेका थिए । उनले ३३ बलमा तीन छक्का र चार चौका पनि हिर्काए । विकेटकिपर ब्याट्सम्यान फ्लेचरले ओपनर जोन्सन चालर्ससँग एक सय ४५ रनको साझेदारी गरे । ओपनर एलिक एथेन्जले १७ रन बनाए भने फाबियन एलन १९ रनमा आउट भए । किमो पल १३ रनमा अविजित रहे । नेपाली टोलीका बलरहरु खासै प्रभावकारी देखिएनन् । सागर ढकाल र करण केसीले एक–एक विकेट लिए ।

नेपालले पहिलो विकेटका रूपमा ओपनर विनोद भण्डारीलाई गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान विनोद १५ बलमा चार चौकाको मद्दतले १९ रन बनाउँदै आउट भएका थिए । उनलाई क्यारेबियन टोलीका बलर फाबियन एलनले ह्याडेन वाल्सद्वारा क्याच गराएका थिए । चौथो ओभरको अन्तिम बलमा विनोद आउट हुँदा नेपालले ३६ रन बनाएको थियो । नेपालले दोस्रो विकेटका रूपमा अनिल साहलाई गुमाएको थियो । अनिललाई क्यारेबियन बलर गुडाकेश मोटीले कप्तान रोस्टन चेजद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि अनिल साहले १० बलको सामना गरी दुई छक्काको मद्दतले १४ रन बटुलेका थिए । ६।४ ओभरमा अनिल आउट हुँदा नेपालले ५१ रन बनाएको थियो ।

नेपालले तेस्रो विकेटका रूपमा आरिफ शेखलाई गुमाएको थियो । उनी केवल तीन रन बनाउँदै आउट भएका थिए । उनलाई वेस्ट इन्डिजका बलर ह्याडेन वाल्सले एलिक एथेन्जद्वारा क्याच गराएका थिए । ९.४ ओभरमा उनी आउट हुँदा नेपालले ७६ रन बनाएको थियो । नेपालले चौथो विकेटका रूपमा लोकेश बमलाई गुमाएको थियो । ओपनर ब्याट्सम्यान लोकेशलाई गुडाकेश मोटीले बोल्ड गरेका थिए । पेभेलियन फर्किनुअघि लोकेशले २८ रन बनाएका थिए । उनले २९ बलमा दुई छक्का र एक चौका पनि हिर्काएका थिए । ११औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले ९१ रन बनाएको थियो । नेपालले पाँचौँ विकेटका रूपमा कुशल मल्ललाई गुमाएको थियो । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका कुशल ११ बलमा एक छक्का र दुई चौकाको मद्दतले २० रन बनाउँदै आउट भएका थिए । उनलाई क्यारेबियन टोलीका बलर ह्याडेन वाल्सले विसपद्वारा क्याच गराएका थिए । १२.१ ओभरमा कुशल मल्ल आउट हुँदा नेपालले ९८ रन बनाएको थियो ।  नेपालले छैटौँ विकेटका रूपमा विवेक यादवलाई गुमाएको थियो । विवेक रन आउट भई पेभेलियन फर्किएका थिए । आउट हुनुअघि विवेकले पाँच बलमा तीन रन जोडेका थिए । १४औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले एक सय चार रन बनाएको थियो ।

त्यसलगत्तै नेपालले गुलसन झालाई पनि गुमाएको थियो । गुलसन १० बलमा ६ रन बनाउँदै आउट भएका थिए । उनलाई वेस्ट इन्डिजका बलर ह्याडेन वाल्सले आफ्नो बलिङमा आफैले क्याच लिएर पेभेलियन फर्काएका थिए । १४.२ ओभरमा गुलसन आउट हुँदा नेपालले केवल एक सय ६ रन बनाएको थियो । नेपालले आठौँ विकेटका रूपमा कप्तान दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । दीपेन्द रन आउट हुँदै पेभेलियन फर्किएका थिए । आउट हुनुअघि उनले सात बलमा एक छक्काको मद्दतले सात रन बनाएका थिए । १६।३ ओभरमा उनी आउट हुँदा नेपालले केवल एक सय १९ रन बनाएको थियो । नेपालले नवौँ विकेटका रूपमा कमलसिंह ऐरीलाई गुमाएको थियो । उनी चार बलमा एक चौकाको मद्दतले ६ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई वेस्ट इन्डिजका बलर म्याथ्यू फोर्डले वाल्सद्वारा क्याच गराएका थिए । १८.१ ओभरमा उनी आउट हुँदा नेपालले केवल एक सय ३६ रन बनाएको थियो ।

नेपालले अन्तिम विकेटका रूपमा करण केसीलाई गुमाएको थियो । उनी १७ बलमा एक छक्का र तीन चौकाको मद्दतले २८ रन बनाउँदै आउट भएका थिए । वेस्ट इन्डिजका बलर ओबेड म्याकोयले पलद्वारा क्याच गराएका थिए । सागर ढकाल भने तीन रनमा अविजित रहे । त्यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले पहिलो विकेटका रूपमा ओपनर एलिक अथान्जलाई गुमाएको थियो । उनी १० बलमा एक छक्का र दुई चौकाको मद्दतले १७ रन बनाउँदै आउट भएका थिए । उनी रन आउट भएका थिए । ३.१ ओभरमा उनी आउट हुँदा इन्डिजले २७ रन बनाएको थियो ।

क्यारेबियन टोलीको दोस्रो विकेट सागर ढकालले लिएका थिए । उनले वेस्ट इन्डिजका तेस्रो नम्बरका ब्याट्सम्यान आन्द्रे फ्लेचरलाई दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि फ्लेचरले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए । फ्लेचरले टोलीको खातामा ५३ रन थपेका थिए । उनले ३३ बलमा तीन छक्का र चार चौका हिर्काएका थिए । उनले ओपनर ब्याट्सम्यान जोन्सन चार्लिससँग एक सय ४५ रनको साझेदारी गरेका थिए । १५.५ ओभरमा उनी आउट हुँदा वेस्ट इन्डिजले एक सय ७२ रन बनाइसकेको थियो ।

वेस्ट इन्डिजको तेस्रो विकेट करण केसीले लिएका थिए । करणले वेस्ट इन्डिजका चौथो नम्बरका ब्याट्सम्यान फाबियन एलनलाई कप्तान दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका थिए । दीपेन्द्रले लिएको यो दोस्रो क्याच थियो । फाबियनले नौ बलमा एक छक्का र दुई चौकाको मद्दतले १९ रन बनाएका थिए । १८.२ ओभरमा उनी आउट हुँदा वेस्ट इन्डिजले दुई सय चार रन बनाइसकेको थियो । वेस्ट इन्डिजविरुद्धको तेस्रो खेलमा बुधबार नेपाली टोली दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदानमा ओर्लिएको थियो । नियमित कप्तान रोहित पौडेललाई भने आराम दिइएको थियो । यो खेलको समाप्तिपछि नेपाल क्रिकेट संघले आगामी टी–२० विश्वकपका लागि टोली घोषणा गर्नेछ । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टोलीका अधिकांश खेलाडीले सिनियर टोलीबाट विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपाल र वेस्ट इन्डिजबिच यो अभ्यास खेल खेलिएको हो ।

वेस्ट इन्डिजको कुनै पनि टोली नेपाल भ्रमणमा आएको यो पहिलो पटक हो । नेपालसँगै वेस्ट इन्डिजसले पनि आगामी टी–२० विश्वकप खेल्दैछ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ । आगामी टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । उक्त समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । वेस्ट इन्डिज भने विश्वकपको समूह ‘सी’ मा परेको छ । उक्त समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगान्डा रहेका छन् । यसअघि नेपाल र वेस्ट इन्डिजबिच एकपटक मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेलिएको छ । सन् २०२३ मा जिम्बाबेमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका क्रममा नेपाल र वेस्ट इन्डिजबिच खेल भएको थियो । त्यो खेलमा क्यारेबियन टोली एक सय एक रनले विजयी भएको थियो । नेपालले टी–२० विश्वकपको अन्तिम तयारी पनि वेस्ट इन्डिजमै गर्ने भएको छ ।