नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिले फिल्डिङ गर्ने, जित्नै पर्ने दबाबमा

काठमाडौँ नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको चौथो टी–२० क्रिकेटमा बिहीबार पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भ्रमणकारी टोली वेस्ट इन्डिजले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । खेल अपरान्ह १२ः १५ बजे सुरु हुनेछ । 

पाँच खेलको शृंखलामा वेस्ट इन्डिज २–१ ले अगाडि छ । शृंखलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । दोस्रो खेलमा भने वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो । तेस्रो खेलमा पनि वेस्ट इन्डिजले नेपाललाई ७६ रनले हराएको थियो ।

वेस्ट इन्डिजविरुद्धको शृंखलामा नेपालका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान कप्तान रोहित पौडेल हुन् । उनले शृंखलाको पहिलो खेलमा शतक र दोस्रो खेलमा अर्धशतक बनाएका थिए । वेस्ट इन्डिजका जोन्सन चार्ल्सले पनि एउटा शतक बनाएका छन् । जोन्सन चार्ल्सले नेपालविरुद्धको तेस्रो खेलमा अविजित एक सय १९ रन बनाएका थिए । जोन्सन नेपाली भूमिमा खेलिएको प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो क्यारेबियन खेलाडी पनि बनेका छन् । वेस्ट इन्डिज ‘ए’ का अधिकांश खेलाडीले सिनियर टोलीबाट थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । 

यसै वर्षको जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपाल र वेस्ट इन्डिजबिच यो मैत्रीपूर्ण अभ्यास खेल खेलिएको हो । वेस्ट इन्डिजको कुनै पनि टोली नेपाल भ्रमणमा आएको यो पहिलो पटक हो ।  यसअघि नेपाल र वेस्ट इन्डिजबिच एकपटक मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेलिएको छ । सन् २०२३ मा जिम्बाबेमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका क्रममा नेपाल र वेस्ट इन्डिजबिच खेल भएको थियो । त्यो खेलमा क्यारेबियन टोली एकसय एक रनले विजयी भएको थियो । नेपालसँगै वेस्ट इन्डिजसले पनि आगामी आईसीसी टी–२० विश्वकप खेल्दैछ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । 

टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । उक्त समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् । वेस्ट इन्डिज भने समूह ‘सी’ मा छ । त्यो समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगान्डा छन् । नेपालले टी–२० विश्वकपको अन्तिम तयारी पनि वेस्ट इन्डिजमै गर्ने भएको छ ।

वेस्ट इन्डिज सँग नेपाल पराजित