संसद्‌मा नीति निर्माणलाई प्राथमिकता राखेर गर्न सक्ने कामहरू गर्न प्रयत्न गर्ने सुहाङको प्रतिवद्धता

काठमाडौँ नव निर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले संसद्‌मा नीति निर्माणलाई प्राथमिकता राखेर गर्न सक्ने कामहरू गर्न प्रयत्न गर्ने बताएका छन् । बुधबार पद तथा गोपनीयताको शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले संसद् भनेकै नीति निर्माण गर्ने थलो भएकाले आफूले पनि संसद्मा त्यसकै लागि भूमिका खेल्ने बताए ।

उनले नेपालमा धेरै कानुनहरू बनेको तथा विकास निर्माणका कामहरू समेत भएको भन्दै ती कामहरू अझै पूर्ण नभएकाले त्यसलाई पूर्णता दिनतर्फ लाग्नुपर्ने पनि बताए । ‘हामी सबैले एक अर्कोमा सहकार्य गरेर, समन्वयकारी भूमिका खेलेर कसरी पूर्णता दिन सकिन्छ र कानुनहरू बनाउन सकिन्छ भन्नेमा एकताबद्ध भएर लाग्नुपर्छ’, नेम्वाङको भनाइ छ ।

त्यस काममा आफ्नो बुवाले देखाएको इमान र निष्ठाकासाथ ती कामहरूलाई पूर्णता दिने गरेर आफू अघि बढ्ने उनको दाबी छ ।
साथै उनले इलामको विकास निर्माणलाई पनि आफूले प्राथमिकतामा राखेको बताए । ‘इलामको सवालमा मेरा तीनवटा प्राथमिकता छन् । ‘इलामका समस्या समाधानका लागि उठाउने, कृषि, शिक्षा,पर्यटनका लागि नीति निर्माण नभएको हुनसक्छ । यो कुरालाई समाएर हिँड्छु’, सुहाङको भनाइ छ ।  

उनले संसद्को गतिरोध अन्त्य गर्न संवाद नै उपयुक्त भएकाले त्यसमार्फत सहमति गरेर संसद्लाई राम्रोसँग चल्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।  

प्रतिनिधि सभामा धकेलाधकेल