रोनाल्डो सन् २०२३ मा विश्वकै सर्वाधिक गोलकर्ता बन्दै

रियाद   क्रिस्टियानो रोनाल्डो सन् २०२३ मा विश्वकै सर्वाधिक गोलकर्ता बन्दै अन्त्य गर्ने भएका छन् । शनिबार साउदी प्रो लिगमा अल तावोउनविरुद्ध ४–१ को जीत हासिल गर्ने क्रममा गोल गर्दै रोनाल्डोले यो वर्षको ५४ औँ गोल गर्न सफल भएका हुन् ।

पोर्चुगिज फरवार्डले क्लब र देशका लागि औपचारिक प्रतियोगितामा ५४ गोल गरे । योसँगै उनले बायर्न म्युनिखका ह्यारी केन र पेरिस सेन्ट जर्मेनका किलियान एम्बाप्पेको ५२ गोल तथा म्यानचेस्टर सिटीका अर्लिङ हालान्डको ५० गोलको आँकडालाई उछिनेका हुन् । अब यीमध्ये कुनै पनि खेलाडीले सन् २०२३ मा अर्को खेल खेल्ने छैनन् ।

रोनाल्डो वर्षको सर्वाधिक गोलकर्ता बनेको यो पाँचौँ पटक हो । यसअघि उनले सन् २०११, २०१३, २०१४ र २०१५ मा रियल मड्रिडमा रहँदा यो उपलब्धि हासिल गरेका छन् । सन् २०१६ पछि उनले यति धेरै गोल गरेको पहिलोपटक हो । त्यतिबेला ५५ गोल गर्दै उनले पाँचौँ बालोन डी’ ओरको उपाधि जितेका थिए ।