बर्सभरि उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारी पुरस्कृत

काठमाडौँ प्रहरी महानिरीक्षक वसन्त कुँवरले बर्सभरि उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरेका छन् । ६८ औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा आईजीपी कुँवरले पुरस्कार र कदरपत्र प्रदान गरेका हुन् ।

उत्कृष्ट विपद् व्यवस्थापनको कार्य गर्ने प्रहरी जवान प्रकाश साउद, उत्कृष्ट आन्तरिक प्रशिक्षकतर्फ डीएसपी रामेश्वर पौडेल, उत्कृष्ट बाह्य प्रशिक्षक सई रेशम बहादुर बानिया, प्रहरी जवान सरिता थारू र सपोर्ट समूह प्राविधिकतर्फका प्रहरी निरीक्षक भक्त क्षेत्री पुरस्कृत भएका छन् ।

महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रतर्फ जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत असई समीक्षा खत्री उत्कृष्ट भएकी छन् । महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरीको मनोबल उच्च बनाउन युनिसेफको सहकार्यमा सुरु गरिएको परियोजना अन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत हवल्दार देवी पाण्डे द्धितिय र सुनसरीमा कार्यरत प्रहरी निरीक्षक निरला भण्डारी तृतीय भएकी छन् ।

आईजीपी कुँवरले प्रहरी सम्बन्धी उत्कृष्ट लेख रचनातर्फ डा. छायादत्त न्यौपाने‘बगर’ र प्रहरी निरीक्षक जनार्दन घिमिरेलाई नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गरेका छन् । नेपाल प्रहरी विद्यालयका भरत सिग्देल उत्कृष्ट शिक्षक भएका छन् । ६८औँ प्रहरी दिवसको अवसरमा प्रहरीद्वारा आयोजना गरिएको चित्रकला प्रतियोगितामा विजयी हुने नारायणी मोडेल सेकेन्डरी स्कुल, भरतपुर महानगरपालिका–१० की कक्षा ९ मा अध्ययनरत छात्रा सृष्टि श्रेष्ठ र निबन्ध प्रतियोगितामा विजयी हुने सेन्ट जेभियर्स स्कुलकी कक्षा १० की छात्रा अनुष्का पाण्डेयलाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको छ । सो अवसरमा अनुष्का पाण्डेयले पुरस्कृत निबन्ध वाचन गरेकी थिइन् ।

यसैगरी प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीलाई शान्ति सुरक्षा र अपराध अनुसन्धानमा सहयोग पुर्याउने अवकास प्राप्त प्रहरी उपरीक्षक ध्रुवरत्न हाडा, अवकास प्राप्त प्रहरी निरीक्षक श्याने राना लगायतलाई पुरस्कार र सम्मान पत्र प्रदान गरेका छन् । नेपाल प्रहरीलाई निःशुल्क जग्गा प्रदान गर्ने उदयपुरको बेलका नगरपालिकाका धनराज दाहाललाई कदरपत्र प्रदान गरिएको छ ।