म्याग्दीको तातोपानी कुण्डमा नुहाउन मानिसहरुको भिड

१३ कात्तिक, गलेश्वर (म्याग्दी) । प्राकृतिक चिकित्सालयका रुपमा परिचित म्याग्दीको तातोपानी कुण्डमा नुहाउन आउनेको भिड लागेको छ ।

बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक तातोपानीको कुण्डमा दैनिक दुई सयको हाराहारीमा डुबेर उपचार सेवा लिन आएका तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काले जानकारी दिए ।

वीरेनुनको गन्ध आउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ ।

‘यो सामान्य अवस्था हो, चिसो बढेसँगै बिरामीको पनि चाप बढ्छ । बिरामीको चाप बढेपछि दैनिक दुई/दुई घण्टाका दरले पुरुष र महिलालाई दुई/दुई वटा समूह बनाएर स्नान गर्ने व्यवस्था मिलाएका छौं’, सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष खड्काले भने ।

‘अब तातोपानी कुण्डमा डुबेर उपचार सेवा लिन आउनेहरुको चाप बढ्छ, चिसो बढेसँगै बिरामीको अतिरिक्त पर्यटकको पनि यहाँ आउने गर्दछन्’, अध्यक्ष खड्काले भने, ‘सहजरूपमा स्नानको व्यवस्थाका लागि महिला र पुरुषलाई स्नान गर्ने फरकफरक समय तालिका बनाएका हौँ ।’

स्नानका लागि आएका बिरामी र पाहुनाले तातोपानी बजारमा चहलपहल बढेको छ । म्याग्दी नदीको किनारमा जमिनभित्रबाट वीरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा एकपटकमा तीन सय ५० देखि चार सयले स्नान गर्नसक्ने क्षमता छ ।

छोटो समयका लागि स्नान गर्नेलाई छुट्टै पोखरी बनाइएको छ । त्यहाँ स्नान गर्न एकपटकका लागि प्रतिव्यक्ति रु दुई सय शुल्क तोकिएको छ ।

एक दिनमा दुई पटक दुई/दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्किएर पाँच/दश मिनेटसम्म पछ्यौरा, कम्बल, प्लास्टिक, काम्लो आदि न्याना कपडा ओढेर शरीरबाट चिटचिट पसिना निस्कँदासम्म विश्राम गरिन्छ ।

सात दिन स्नानका लागि प्रतिव्यक्ति तीन सय ५० शुल्क तोकिएको छ । प्रवेश शुल्क र चन्दा सहयोगबापत उठ्ने रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउनुपर्छ ।

विगत १३ वर्षदेखि सरस्वती माविका १६ जनामध्ये चार जना निजी शिक्षकको तलबका लागि तातोपानी कुण्डले मासिक रु एक लाखका दरले सहयोग गर्दै आएको छ ।

बचत भएको रकम कुण्डका कर्मचारीको तलब, सञ्चालन, पूर्वाधार निर्माण, विद्यालयलाई अनुदान र सामाजिक क्षेत्रमा खर्च गरिँदै आएको छ ।