जनताका आवश्यकतालाई हेरेर आगामी कार्यक्रम तथा योजना ल्याइने : मुख्यमन्त्री पाण्डे

कास्की  गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताका आवश्यकतालाई हेरेर आगामी कार्यक्रम तथा योजना ल्याइने बताएका छन् । प्रदेशको नीति तथा योजना आयोगले आज कास्कीमा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजना तर्जुमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा उनले जनतालाई केन्द्रमा राखेर योजना बनाइने बताए ।

"पहुँचको आधारमा भन्दा पनि जनताका प्रमुख आवश्यकता के हुन भनी छलफल गरी तीनै योजनालाई अगाडि सार्नुको विकल्प छैन", पाण्डेले भने, “वर्तमान अवस्थामा सबैभन्दा ठूलो चुनौती भनेको विकासलाई जनताको जीवनसँग जोड्नु हो ।” तीव्र रुपमा भइरहेको बसाइँसराइलाई रोकेर गाउँमा रोजगारीका अवसर सृजना हुने किसिमका योजना ल्याएर युवालाई विदेश पलायन हुनबाट रोक्नुपर्नेमा उनले जोड दिए । विकास निर्माणका योजना बनाउँदा सोको लाभान्वित सङ्ख्या र लागतलाई ख्याल गर्नुपर्ने मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।  

गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले यो प्रदेश पर्यटकीय र कृषि क्षेत्र भएकाले यस क्षेत्रलाई केन्द्रित गरी पञ्चवर्षीय योजना ल्याउनुपर्नेमा जोड दिए । सदस्य भीम कार्कीले युवा लक्षित कार्यक्रम ल्याएर विदेश जानबाट युवालाई स्वदेशमा रोक्ने किसिमका योजना बनाउनुपर्नेमा जोड दिए । गण्डकी प्रदेशसभा सदस्य देवका पहारीले दश जोर दुईको अध्ययनसँगै विद्यार्थीलाई सीपमूलक कार्यक्रम ल्याएर उनीहरुलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्ने भन्दै सोही अनुसारका कार्यक्रम ल्याउन जरुरी भएको बताइन् । अर्का सदस्य नन्दकला दमैले विपन्न वर्गको जीवनस्तर उकास्ने किसिमले प्रदेश सरकारले नीति तथा योजनाका कार्यक्रम ल्याउन जरुरी भएको बताइन् । 

गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले जनताका आवश्यकतालाई केन्द्रमा राखेर दिगो विकासका कार्यक्रम ल्याउन आवश्यक भएको बताइन् । नेपाली कांग्रेस कास्कीका नेता सूर्य भण्डारीले प्रदेश सरकारले पञ्चवर्षीय नीति तथा कार्यक्रम ल्याउँदा दीर्घकालीन रुपमा प्रयोगमा आउने किसिमबाट ल्याउनुपर्नेमा जोड दिए । 

नेकपा एमाले कास्कीका नेता भेषराज बरालले महोत्वाकाङ्क्षी योजनाभन्दा पनि कार्यान्वयन गर्नसक्ने योजना ल्याएर नेपाली जनतालाई विकासको महसुस गर्ने वातावरण सृजना गर्नुपर्नेमा जोड दिए । नेकपा माओवादी केन्द्रका नेता विनय थापाले जनतालाई सुशासन कसरी दिन सकिन्छ भन्ने बारेमा सोचेर योजना अगाडि बढाउनुपर्ने बताए ।