रोजगार मेलाबाट साढे २ सय जनाले पाए रोजगारी

पोखरा गण्डकी प्रदेश सरकार र पोखरा महानगरले आयोजना गरेको रोजगार मेलाबाट साढे २ सय जनाले रोजगारी पाएका छन् । सरकारका अनुसार २४५ जनालाई रोजगारीका लागि सम्झौता भइसकेको हो । बेरोजगारलाई रोजगारी दिन सरकारले पोखरा महानगरसँग मिलेर वृत्ति परामर्श तथा रोजगार मेला गरेको हो ।

रोजगारीका लागि फारम भरेकामध्ये पोखरा महानगरपालिकाको व्यवसाय प्रवर्द्धन केन्द्रमा १३ जना, गण्डकी बहुप्राविधिक शिक्षालयमा १०५ जना, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ८० जना र आर्थिक विकास महाशाखाका लागि ४७ जनालाई रोजगारी दिइएको प्रचार संयोजक अम्बिका आचार्यले बताए ।

केहीलाई बुधबार नै नियुक्ति पत्र हस्तान्तरण गरिएको छ । मेलाबाट ३ सय जनाले रोजगारी पाउने अनुमान थियो । मुख्यमन्त्री खगराज अधिकारीले रोजगारी पाएकाहरूलाई नियुक्ति पत्र प्रदान गरेका हुन् ।

मेलामा विभिन्न ४० क्षेत्रमा १ हजार ८ सय १० जनालाई रोजगारी दिन सकिने उद्यमीहरूको प्रतिबद्धता छ । निःशुल्क सीप विकास तालिमका लागि १४६ जना, रोजगारी खोजकर्ता जम्मा २२३ जना, सीप परीक्षणका लागि ४५ ले मात्र फारम भरेका आचार्यले जानकारी दिए ।