गलत गतिविधि गर्नेहरू सबै कानुनको दायरामा आउँछन् :गृहमन्त्री

काठमाडौँ उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले गलत गतिविधि गर्नेहरू कानुनको दायरामा आउने भन्दै साना, ठूला, चिल्ला, खस्रा सबै माछा पक्राउ गर्ने बताएका छन्‌।

आज चितवनको भरतपुरमा पार्टी नेता कार्यकर्ता सँग फागुपूर्णिमाको अवसरमा होली खेल्दै उनले नयाँ सरकार निर्माण भएसँगै जनतामा आशा पलाएको बताए। देशमा सुशासनको नयाँ अभियान सुरु भएको दाबी गर्दै गृहमन्त्री लामिछानेले भने, ‘अब मान्छे बचाउने होइन देश बचाउने हो। नेता बचाउने होइन जनता बचाउने हो।’पार्टीले सरकारमा गएको दुई हप्तामै काम गरेर देखाएको लामिछानेको दाबी छ। ‘विभिन्न दलहरूसँग साझेदारी गरेर सत्तामा चार मन्त्रालयको जिम्मेवारी लिएका छौँ। सुशासनका लागि ठूला दलका प्रमुख नेता एक हुनुहुन्छ।’उनले सरकार सञ्चालन र सुशासन कायम गर्ने विषयमा सबै शीर्ष नेताहरू एक ठाउँमा उभिएको बताए।