सुतुर्केको ‘डम्पिङसाइट’ पनि भरिएपछि फोहोर व्यवस्थापनमा चुनौती

काठमाडौँ  बागलुङ नगरपालिकाले काठेखोला र कालीगण्डकी करिडोर नजिकैको सुतुर्केमा फोहोर फाल्न थालेको एक दशक भयो । त्यसअघि नगरपालिकाले २०५४ सालदेखि कालीगण्डकी किनारमा फोहोर व्यवस्थापन गर्दै आएको थियो । 

तर अहिले सुतुर्केको ‘डम्पिङसाइट’ पनि भरिएपछि फोहोर व्यवस्थापनमा चुनौती थपिएको छ । अव्यवस्थित फोहोर व्यवस्थापनबाट सोही स्थान हुँदै दैनिक गुड्ने सयौँ सवारीसाधन र यात्रु प्रभावित भएका छन् । कुहिने र नकुहिने फोहोर नछुट्याइ व्यवस्थापन गर्दा त्यहाँको १० रोपनी जग्गा भरिएको छ भने सुतुर्केको ‘डम्पिङसाइट’को असर नजिकैको प्रसिद्ध बागलुङ कालिका मन्दिरमा पनि असर पर्न थालेको छ । अव्यवस्थित फोहोर व्यवस्थापनका कारण सो ठाउँ हुँदै यात्रा गर्न सकस हुने गरेको सवारी चालक देवीबहादुर सुनारले सुनाए । “फोहोर फाल्नका लागि वरिपरी पर्खाल लगाइएको छ तर फोहोर भरिएर सबै सडकमा खसेको छ”, उनले भने, “गर्मी पनि बढ्न थाल्यो, अब यो बाटो भएर हिँड्नै नसक्ने अवस्था हुन्छ । दुर्गन्धले रिङ्गटा लाग्ला जस्तो हुन्छ । यो बाटोको विकल्प पनि छैन ।” नगरपालिकाले फोहोरको दिगो व्यवस्थापनका लागि व्यवस्थित ‘ल्यान्डफिल साइट’ बनाउने योजना बनाए पनि हालसम्म कार्यान्वयनमा आएको छैन । केही दिन लगातार यो सडक हुँदै यात्रा गरियो भने बिरामी पर्ने अवस्था रहेको बागलुङ नगरपालका–१४ का विरबहादुर क्षेत्रीको गुनासो छ । स्थानीयले नगरपालिकामा गएर धेरै पटक फोहोर व्यवस्थापनका लागि आग्रह गरे पनि हालसम्म सुनुवाई हुन नसकेको उनको भनाइ छ । अव्यवस्थित फोहोर व्यवस्थापनका कारण त्यहाँका झिँगा मालढुङ्गासम्म पुग्छन्, यही सडकबाट दैनिक सयौँ मान्छे ओहोरदोहोर गर्नुपर्छ । हामी पनि हरेक दिन हिड्छौँ”, क्षेत्री भन्छन्, “नगरपालिकाले फोहोर उठाउने बेलामै कुहिने र नकुहिने छुट्टाएर व्यवस्थापन गर्नुको विकल्प छैन ।”

बागलुङ नगरपालिकाले दैनिक छ टन फोहोर व्यवस्थापन गरिरहेको छ । नगरपालिकाले फोहोर व्यवस्थापनका लागि आधुनिक र व्यवस्थित डम्पिङसाइट बनाउने गुरुयोजना बनाए पनि बजेट अभावमा कार्यान्वयन गर्न नसकिएको नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठको भनाइ छ । नगरपालिकाले दक्षिण कोरियाको वातावरण विभाग अन्तर्गत ‘एएलके इसिओ’ कम्पनीसँग फोहोर व्यवस्थापनका लागि मेसिन ल्याउने तयारी गरेको श्रेष्ठले जानकारी दिएका छन् । यसअघि सो कम्पनीका प्रमुख खो यु सेप, सीईओ जङ डेटोङ तथा बागलुङ नगरपालिकाका प्रमुख श्रेष्ठ र कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीको संयुक्त बैठकले मेसिन ल्याउने निर्णय गरेको थियो । बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षमा फोहोर व्यवस्थापनका लागि विनियोजित रु एक करोड २० लाखमा मेसिन खरिद गर्ने तयारी गरेको प्रमुख श्रेष्ठको भनाइ रहेको  छ ।