सशस्त्र प्रहरीले गरेको रक्तदानमा ६६ युनिट रगत संकलन

काठमाडौँ सशस्त्र प्रहरीले गरेको रक्तदानमा ६६ युनिट रगत संकलन भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीले सोमबार आफ्नै कार्यालयभित्र गरेको रक्तदान कार्यक्रममा ६६ जना सशस्त्र प्रहरीले रगत दिएका थिए ।

कालिका गणको १९ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको गणपति अरुण शर्मा पौडेलले जानकारी दिए । संकलित रगत नेपाल रेडक्रस सोसाईटी कास्की शाखाद्वारा संचालित प्रादेशिक रक्तसंचार सेवा, पोखरालाई हस्तान्तरण गरिएको एसपी पौडेलले बताए । ‘विभिन्न ठाउँमा रक्तदान कार्यक्रम गरिन्छ । रगत दिन प्रहरी बाहिर पठाउनुपर्ने हुन्छ,' उनले भने, ‘बारम्बार १०र१५ जना प्रहरी रगत दिन पठाउन झन्झट हुने भएकाले कार्यालयमै रगत संकलन गरेर पठाएका हौँ । कार्यस्थलमै संकलन गरेपछि तीन महिना बाहिर जानुपरेनँ ।’

२०६१ चैत्र २१ मा मालेपाटनस्थित स्थापना भएको सशस्त्र प्रहरी बलको कालिका गणले स्थापना दिवसको उपलक्ष्यमा एकल तथा अन्य संघसंस्थासंग जोडिएर खेलकुद, विपद् सम्बन्धी सचेतना तथा डेमोस्ट्रेसन, मठमन्दिर सरसफाई, वृक्षारोपण र रक्तदान जस्ता जनमुखी तथा पर्यावरणीय सुरक्षा सम्बन्धी कार्यक्रम गरेको छ ।