बरोडालाई जितका लागि एक सय ५७ रन आवश्यक

काठमाडौँ राज्यस्तरीय क्लबसँग ‘एसएमएस फ्रेन्ड्सिप कप’ त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खला खेल्न हाल भारत भ्रमणमा रहेको नेपाली टोलीले मंगलबारको खेलमा बरोडालाई जितका लागि एक सय ५७ रनको लक्ष्य दिएको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ५६ रन बनाएको हो ।  नेपालका लागि कुशल मल्लले २५ बलमा सर्वाधिक ४० रनको योगदान गरे । उनी अविजित रहे ।

सन्दीप जोराले पनि टोलीका लागि १६ बलमा २९ रनको योगदान गरे । अनिल साहले २७ बलमा २५ रन बनाए । कप्तान रोहित पौडेलले पनि १३ बलमा १८ रन बटुले । नेपालका लागि गुलसन झाले १४ बलमा १३ रन बनाए । यसैगरी ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ११ बलमा नौ रन बटुलेका थिए । अर्का ओपनर ब्याट्सम्यान आसिफ शेख पनि १२ बलमा नौ रन बनाउँदै पेभेलियन फर्किए । दीपेन्द्रसिंह ऐरी पाँच बलमा पाँच रन बनाउँदै अविजित रहे । बरोडाका बलर बाबा खानले दुई तथा मोहित मोंगिया र परिक्षीत पाटिदरले एक–एक विकेट लिए ।