एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालको विजयको सुरुआत

काठमाडौँ ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ । नेपालले शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको हो । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको मलेसियाले निर्धारित ओभरमा तीन विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १९.२ ओभरमा पाँच विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको हो । नेपालको जितमा ओपनर आसिफ शेखले ३२ रनको योगदान गरे । उनले ३५ बलमा चार चौका प्रहार गरे । कप्तान रोहित पौडेलले पनि २८ रन बनाए । उनले २४ बलमा एक छक्का प्रहार गरे ।

सन्दीप जोरा पनि केवल नौ बलमा अविजित १२ रनको योगदान गरे । कुशल मल्लले पनि सात रन बनाए । नेपालले अतिरिक्त रुपमा केवल दुई रन पाएको थियो । मलेसियाका बलर विरेनदीप सिंहले तीन तथा पवनदीप सिंह र मुहम्मद वाफिकले एक–एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको मलेसियाका लागि भने ओपनर ब्याट्सम्यान वीरेनदीप सिंहले अविजित ७२ रनको योगदान गरेका थिए । उनले केवल ५७ बलको सामना गरी चार छक्का र चार चौका पनि हिर्काएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान श्रविन मुनियान्डीले पनि टोलीको खातामा ४१ रन थपे ।

श्रविनले केवल ३३ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काएका थिए । ओपनर मुहम्मद अमिरले १६ र नजमस सकिबले अविजित तीन रन बनाए । नेपाली टोलीका बलर दीपेन्द्रसिंह ऐरीले दुई र अविनाष बोहराले एक विकेट लिएका थिए ।

नेपालले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको थियो । कुशल भुर्तेल २४ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनले २४ बलको सामना गरी तीन चौका पनि हिर्काएका थिए । उनलाई मलेसियाका बलर पवनदीप सिंहले एलबीडब्लूको धरापमा पारेका थिए । ७.५ ओभरमा कुशल भुर्तेल आउट हुँदा नेपालले ४९ रन बनाएको थियो ।

नेपालले दोस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान आसिफ शेखलाई गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान आसिफ शेख ३२ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनले ३५ बलको सामना गरी चार चौका पनि हिर्काएका थिए । उनलाई मलेसियाका बलर वीरेनदीप सिंहले विकेटकिपर नजमस सकिबद्वारा स्टम्पिङ गराएका थिए । ११.१ ओभरमा आसिफ शेख आउट हुँदा नेपालले ६४ रन बनाएको थियो ।  

नेपालले तेस्रो विकेटका रुपमा कुशल मल्ललाई गुमाएको थियो । चौथो नम्बरमा क्रिज समाल्न आएका कुशल मल्ल ६ बलमा एक चौकाको मद्दतले सात रन बनाउँदै आउट भएका थिए । उनलाई मलेसियाका बलर मुहम्मद वाफिकले परिवर्तित खेलाडी जुबैदीद्वारा क्याच गराएका थिए । १३.२ ओभरमा कुशल मल्ल आउट हुँदा नेपालले ८३ रन बनाएको थियो ।

नेपालले चौथो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका रोहित २८ रन बनाउँदै आउट भएका थिए । रोहितले २४ बलमा एक छक्का पनि हिर्काएका थिए । उनलाई मलेसियाका बलर विरेनदीप सिंहले मुनियान्डीद्वारा क्याच गराएका थिए । १६.१ ओभरमा रोहित आउट हुँदा नेपालले १०७ रन बनाएको थियो ।

त्यसलगत्तै नेपालले पाँचौँ विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका दीपेन्द्र २० रन बनाउँदै आउट भएका थिए । उनले केवल ११ बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काएका थिए । उनलाई मलेसियाका बलर विरेनदीपले मुनियान्डीद्वारा क्याच गराएका थिए । १७औँ ओभरको अन्तिम बलमा दीपेन्द्र आउट हुँदा नेपालले ११४ रन बनाएको थियो ।

त्यसअघि पहिले ब्याटिङ गरेको मलेलियाको पहिलो विकेट नेपाली टोलीका बलर दीपेन्द्रसिंह ऐरीले लिएका थिए । दीपेन्द्रले मलेसियाका ओपनर मुहम्मद अमिरलाई १६ रनको ब्यक्तिगत स्कोरमा आउट गराएका थिए । दीपेन्द्रले आफ्नो बलिङमा अमिरको क्याच आफैले लिएका थिए । पेभेलियन फर्किनुअघि अमिरले १८ बलमा तीन चौका पनि हिर्काएका थिए । ५.१ ओभरमा अमिर आउट हुँदा मलेसियाले ३५ रन बनाएको थियो ।

मलेसियाको दोस्रो विकेट अविनाष बोहराले लिएका थिए । उनले मेलियाका तेस्रो नम्बरका ब्याट्सम्यान श्रविन मुनियान्डीलाई बोल्ड गरेका थिए । पेभेलियन फर्किनुअघि श्रविनले ४१ रन बनाएका थिए । उनले केवल ३३ बलको सामना गरी दुई छक्का र तीन चौका पनि हिर्काएका थिए । १६.१ ओभरमा श्रविन आउट हुँदा मलेसियाले एक सय १७ रन बनाइसकेको थियो ।

मलेसियाको तेस्रो विकेट दीपेन्द्रसिंह ऐरीले लिएका थिए । उनले मलेसियाका चौथो नम्बरका ब्याट्सम्यान सइद अजिजलाई कुशल मल्लद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि अजिजले सात बलमा एक चौकाको मद्दतले ६ रन बनाएका थिए । दीपेन्द्रले ब्यक्तिगत रुपमा लिएको यो दोस्रो विकेट थियो । १७.५ ओभरमा अजिज आउट हुँदा मलेसियाले एक सय २६ रन बनाएको थियो । मलेसियाले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो ।

वैशाख ९ गतेसम्म सञ्चालन हुने प्रिमियर कपको दोस्रो संस्करणमा १० टोलीको सहभागिता रहेको छ । प्रिमियर कपको पहिलो संस्करणको उपाधि नेपालले जितेको थियो । अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको थियो ।

नेपाली टोली भारतमा स्थानीय क्लबहरूसँग त्रिकोणात्मक शृङ्खला खेलेर उतैबाट ओमान प्रस्थान गरेको हो । भारत भ्रमणका क्रममा नेपाली टोलीले त्यहाँको राज्यस्तरीय क्लब गुजरात र बरोडासँग त्रिकोणात्मक टी–२० शृङ्खला खेलेको थियो । शृङ्खलाको उपाधि पनि नेपालले नै जितेको थियो ।

एसियाली क्रिकेट काउन्सिल (एसीसी) का एसोसिएट्स सदस्य राष्ट्रका लागि प्रिमियर कप क्रिकेट निकै महत्त्वपूर्ण प्रतियोगिता हो । यही प्रतियोगिताले एसोसिएट्स सदस्य राष्ट्रका लागि एसिया कपजस्तो ठुलो प्रतियोगिता खेल्ने अवसर प्रदान गर्छ ।

अघिल्लो संस्करणमा पनि नेपाल प्रिमियर कपको विजेता बन्दै एसिया कपमा छनोट भएको थियो । एसिया कपमा छनोट भएको एसोसिएट्स सदस्य राष्ट्रले आफूभन्दा निकै बलिया टेस्ट राष्ट्रहरूसँग भिडन्त गर्ने अवसर पाउँछ ।

एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले सहभागिता जनाउँछन् । सन् २०२३ को एसिया कपमा नेपाल समूह ‘ए’ मा परेको थियो । नेपालको समूहमा विश्व क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तान पनि थिए ।

एसिया कपको त्यो संस्करणमा नेपाली खेलाडीले रोहित शर्मा, विराट कोहली, श्रेयष ऐयर, हार्दिक पाण्ड्या, शुभमन गिल, इशान किसन, रविन्द्र जडेजा, बाबर आजम, इफ्तिखार अहमद, फाखर जामन, साहिन शाह अफ्रिदी, मोहम्मद रिजवान, नसिम शाहजस्ता विश्व चर्चित खेलाडीहरुसँग खेल्ने अवसर पाएका थिए ।

भारत र पाकिस्तानविरुद्धको खेलमा नेपाली खेलाडीको प्रदर्शन पनि उत्कृष्ट थियो । यद्यपि, दुवै खेलमा नेपाली टोली पराजित भएको थियो । खासगरी भारतविरुद्धको खेलमा नेपाली ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेका थिए । पाकिस्तानविरुद्धको खेलमा भने नेपाली बलरहरुले गतिलो प्रदर्शन गरेका थिए ।

एसीसी प्रिमियर कपको यो संस्करण नेपालका लागि अर्को अर्थमा पनि महत्त्वपूर्ण छ । एसीसी प्रिमियर कपको अघिल्लो संस्करण एकदिवसीय ढाँचामा खेलाइएको थियो । तर, दोस्रो संस्करण भने टी–२० ढाँचामा खेलाइँदै छ ।

त्यसैले एसीसी प्रिमियर कपको आगामी संस्करणले यसै वर्षको जुनमा अमेरिका र वेस्ट इन्डियामा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीलाई पनि सहयोग पुर्‍याउने छ । आगामी टी–२० विश्वकपमा नेपालले पनि सहभागिता जनाउँदै छ ।

यसपटक एसीसी प्रिमियर कपमा सहभागी हुने अर्को एक राष्ट्र ओमानले पनि टी–२० विश्वकपमा सहभागिता जनाउँदै छ । टी–२० विश्वकपमा सहभागी यी दुवै राष्ट्रका लागि एसीसी प्रिमियर कप आफ्नो प्रदर्शनमा सुधार ल्याउने गतिलो अवसर पनि हो ।

नेपालसहित आठ राष्ट्र एसोसिएट्स सदस्य राष्ट्रहरूको आईसीसी वरीयताका आधारमा प्रतियोगितामा छनोट भएका हुन् । बाँकी दुई राष्ट्र साउदी अरेबिया र कम्बोडिया भने एसीसी पुरुष च्यालेन्जर कपबाट एसीसी प्रिमियर कपमा छनोट भएका हुन् ।

यसपटक एसीसी प्रिमियर कपमा नेपालसँगै हङ्कङ, मलेसिया, साउदी अरेबिया र कतार समूह ‘ए’ मा परेका छन् । प्रतियोगिताको समूह ‘बी’ मा भने बहराइन, कम्बोडिया, कुवेत, आयोजक ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् ।

शनिबार नेपालले आफ्नो दोस्रो खेल कतारसँग खेल्नेछ । अप्रिल १५ तारिखमा नेपालले आफ्नो तेस्रो खेल हङ्कङसँग खेल्नेछ । नेपालले समूहगत चरणको अन्तिम खेल अप्रिल १७ तारिखमा साउदी अरेबियासँग खेल्नेछ ।

समूहगत चरणको समाप्तिपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल खेल अप्रिल १९ तारिखमा खेलिने छ । सेमिफाइनलमा विजयी हुने टोली फाइनलमा पुग्नेछन् भने पराजित दुई टोलीबिच अप्रिल २० तारिखमा तेस्रो स्थानका लागि खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल अप्रिल २१ तारिखमा खेलिने छ ।