पाकिस्तानमा वर्षा र चट्याङका कारण ३९ जनाको मृत्यू

काठमाडौँ कयौं दिनदेखिको भारी वर्षाका कारण यतिबेला पाकिस्तानको दक्षिण पश्चिम क्षेत्र तहसनहस छ । 

वर्षाका कारण कम्तीमा पनि ३९ जनाले ज्यान गुमाएका छन् । यीमध्ये केहीको मृत्यु गहुँ काटिरहेको समयमा चट्याङ पर्दा भएको बताइएको छ । अनलाइनमा देखिएका केही तस्बिरमा वर्षाको पानीले खेतबारी चुर्लुम्म डुबेको देखिन्छ । अचानकको बाढीका कारण बिजुलीको आपूर्ति बन्द भएको छ भने सडकमा आवागमन प्रभावित भएको बताइएको छ । जलवायु परिवर्तनसँगै पाकिस्तानमा विषम मौसमी अवस्था बढेका छन् । सन् २०२२ मा देशको एक तिहाइ क्षेत्र बाढीको प्रकोपमा पर्दा १ हजार ७०० भन्दा धेरैको मृत्यु भएको थियो भने दर्जनौँ मानिस घाइते भएका थिए ।

त्यतिबेला दसौँ लाख मानिस घरबार विहीन बन्दा महिनौँ सम्म पिउने सफा पानीको अभाव थियो । सन् २०२२ मा आएको बाढीका कारण प्रभावित खैबर पख्तुन्खवा र बलूचिस्तानलगायत क्षेत्र हालैका आँधीबेहरीको चपेटामा आएका छन् । आगामी केही दिनमा थप भारी वर्षा हुन् पाकिस्तानको मौसम विभागले चेतावनी जारी गरिरहँदा त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले पहिरो खस्ने र बाढी आउन सक्ने चेतावनी दिइरहेको छ ।  शुक्रबारदेखि शनिबारको बीचमा चट्याङमा परेर पन्जाबमा सबैभन्दा धेरै २१ जनाको मृत्यु भएको भन्दै एएफपीले समाचार छापेको छ । सुदुरपश्चिम बलूचिस्तान प्रान्तमा पनि कम्तीमा ८ जनाको मृत्यु भएको छ । अधिकारीहरूले यस क्षेत्रमा आपतकालको घोषणा गरेका छन् । सोमबार र मङ्गलवार प्रान्तका विद्यालयहरू बन्द गर्न आदेश दिइएको छ ।