नेकपा एसले डाक्यो सचिवालय बैठक बालुवाटारबाट नेता फर्किएलगत्तै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा १२ बजे बैठक बस्न लागेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

बैठकमा सरकारमा सहभागिताबारे छलफल हुने उनले बताए । अध्यक्ष माधव नेपालसहित शीर्ष नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर फर्केलगत्तै बैठक बोलाएको हो ।

प्रधानमन्त्रीले नेकपा एसलाई दुई मन्त्रालयको प्रस्ताव गरेका छन् । तर, शीर्ष नेताहरूले प्रधानमन्त्रीलाई भेटेर गृहसहित तीन मन्त्रालय चाहिने अडान राखेर फर्किएका छन् ।

उनीहरुले गृह नपाए भौतिक मन्त्रालय स्वीकार्न तयार रहेपनि तीन मन्त्रालय घट्न नसक्ने बटमलाइन प्रचण्डलाई सुनाएर फर्किएका छन् ।