उपाधि हात पर्न बाट चुक्यो नेपाल

काठमाडौँ नेपाली टोली त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि चुम्नबाट चुकेको छ । हङकङमा बुधबार सम्पन्न शृङ्खलाको फाइनल खेलमा नेपालले लज्जास्पद हार ब्यहोर्‍यो । नेपाली टोलीलाई फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) ले ८६ रनको फराकिलो अन्तरले हराएको हो ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ७१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.३ ओभरमै अलआउट हुनुअघि ८५ रनमात्र बनाउन सक्यो । नेपाली टोलीको ब्याटिङ अत्यन्तै निराशाजनक रह्यो । नेपालका कुनै पनि ब्याट्सम्यान लामो समयसम्म क्रिजमा टिक्न सकेनन् । नेपालका तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । सन्दीप जोराले सर्वाधिक १७ रन बनाए ।

सन्दीप वाहेक नेपालका अन्य ब्याट्सम्यानले बनाएभन्दा बढी रन त नेपालले अतिरिक्त रूपमा पाएको थियो । नेपालले अतिरिक्त रूपमा १६ रन पाएको थियो । आरिफ शेख १५ रन बनाउँदै पेभेलियन फर्किए भने कप्तान रोहित पौडेल पनि १२ रनभन्दा अगाडि बढ्न सकेनन् ।

ओपनर कुशल भुर्तेल पाँच र विनोद भण्डारी चार रनमा आउट भएका थिए । खेलको प्रारम्भदेखि नै पीएनजीका बलरले नेपाली ब्याट्सम्यानलाई दबाबमा राखेका थिए । पीएनजीका बलर काबुआ मोरिया, सेमो कामिया, सेसे बउ र चाड सोपरले दुई–दुई विकेट लिए ।

त्यसअघि पीएनजीले उत्कृष्ट ब्याटिङ गरेको थियो । पीएनजीका लागि ओपनर ब्याट्सम्यान टोनी उराले ६१ रनको योगदान गरेका थिए । तल्लो क्रमका ब्याट्सम्यान एली नाओले पनि अविजित ३० रन बनाएका थिए । पीएनजीले अतिरिक्त रूपमा १३ रन पाएको थियो ।