घर नक्साको अभिलेख चोरी गर्ने २ जना पक्राउ

काठमाडौँ  सरकारी कागजात चोरी गरेको आरोपमा पोखराबाट २ जना पक्राउ परेका छन् । कास्की प्रहरीले पोखरा ८ नयाँ बजारमा रहेको सहरी स्वास्थ्य केन्द्रको भवनबाट सरकारी कागजातहरू चोरी गर्ने उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा ९ का २८ वर्षीय सुवीर थापामगर र २९ वर्षीय सरोज थापामगर छन् । उनीहरुले गत चैत १२ गते राति कागजात चोरेका थिए । भवनको ताल्चा फुटाएर पोखरा महानगरपालिकाको घर नक्साको अभिलेख चोरी गरेको अनुसन्धानबाट खुलेको छ ।

उनीहरूको साथबाट ३९ थान कागजात समेत बरामद भएका छन् । दुवै जनालाई चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको बैदाम प्रहरी प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

यस्तो रहनेछ आज दिनभरको मौसम