नेपाललाई हिन्दु राष्ट्र बनाउनमा भारतको कुनै षड्यन्त्र नरहेको अध्यक्ष माधवको दाबी

काठमाडौँ  भारतीय जनता पार्टीका नेता समेत रहेका इन्डिया फाउन्डेसनका अध्यक्ष राम माधवले नेपाललाई हिन्दु राष्ट्र बनाउनमा भारतको कुनै षड्यन्त्र नरहेको दाबी गरेका छन् । 

अन्तर्राष्ट्रिय नेपाल–भारत संस्कृत सम्मेलनको समापन समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष राम माधवले नेपालमा जे हुन्छ यहिका जनता र समाजको निर्णयबाट हुने धारणा राखे । उनले भने, ‘यहाँ कसैले हिन्दु राष्ट्र बनाउने कुरा गर्छ भने यो भारतको षड्यन्त्र हो भन्न थाल्छन् । यसमा भारतको कुनै षड्यन्त्र छैन ।’नेपाल र भारत लोकतान्त्रिक देश हुन्, नेपाल हरहमेशा लोकतान्त्रिक देश रहोस् भनी भारतले चाहेको छ’ उनले भने ।  नेपालमा सफल लोकतन्त्र रहेको बताउँदै उनले त्यसमा यहाँको जनताको योगदान रहेको बताए । ‘यसमा न कसैको षड्यन्त्र छ न हस्तक्षेप छ’ उनले भने । भारत यसमा सहयोग गर्न हमेशा तयार रहेको अध्यक्ष माधवले बताए । नेपालमा कस्तो व्यवस्था हुनुपर्छ त्यो निर्णय गर्ने अधिकार नेपाली जनताको भएको बताउँदै उनले संस्कृत भाषा एउटा सभ्यताको विषय रहेको बताए ।नेपाल–भारत संस्कृति र सभ्यतामा मिलेर काम गर्ने बताउँदै अध्यक्ष माधवले भने, ‘युरोपका २७ देश मिलेर त्यहाँका कयौँ मुद्दामा सामूहिक रूपमा छलफल गर्छन् र समस्या समाधान गर्छन् भने नेपाल र भारत मिलेर हाम्रो भाषा, संस्कृति अनि सभ्यताको पुनरुत्थानका लागि काम गर्न किन सकिँदैन ? हामीले प्रयास अगाडि बढाउनुपर्छ ।’

यस्तो रहनेछ आज दिनभरको मौसम