नेपालद्वारा बरोडा २७ रनले पराजित

काठमाडौँ  राज्यस्तरीय क्लबसँग ‘एसएमएस फ्रेन्ड्सिप कप’ त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खला खेल्न हाल भारत भ्रमणमा रहेको नेपाली टोलीले मंगलबार खेलिएको खेलमा बरोडालाई २७ रनले पराजित गरेको छ ।

जारी शृङ्खलामा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोलीले गुजरातलाई हराएको थियो । मंगलबारको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ५६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बरोडाले भने निर्धारित ओभरमा सबै विकेट गुमाएर एक सय २९ रनमात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको नेपालका लागि कुशल मल्लले २५ बलमा सर्वाधिक ४० रनको योगदान गरे । उनी अविजित रहे । सन्दीप जोराले पनि टोलीको खातामा १६ बलमा २९ रन थपे । अनिल साहले २७ बलमा २५ रन बनाए । 

कप्तान रोहित पौडेलले पनि १३ बलमा १८ रन बटुले । नेपालका लागि गुलसन झाले १४ बलमा १३ रन बनाए । ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ११ बलमा नौ रन बटुलेका थिए । अर्का ओपनर आसिफ शेख पनि १२ बलमा नौ रन बनाउँदै पेभेलियन फर्किए । 

यसैगरी दीपेन्द्रसिंह ऐरी पाँच बलमा पाँच रन बनाउँदै अविजित रहे । बरोडाका बलर बाबा खानले दुई तथा मोहित मोंगिया र परिक्षीत पाटिदरले एक-एक विकेट लिए । नेपालका दुई ब्याट्सम्यान रोहित पौडेल र सन्दीप जोरा रन आउट भएका थिए ।

जवाफी ब्याटिङमा ओर्लिएको बरोडालाई लक्ष्यसम्म पुग्न नदिन नेपाली टोलीका बलर करण केसीले तीन विकेट लिए । सोमपाल कामी र अविनाष बोहराले पनि दुई-दुई विकेट हात पारे । गुलसन झा र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए ।