माधव नेपालको पार्टीमा चुनावसम्म कार्यकर्ता नरहने ओलीको भविष्यवाणी

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीले संघ र प्रदेशसभाको चुनावमा एक सिटसम्म जित्न सक्ने बताएका छन् ।

मंगलबार नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलनको पोखरामा उद्घाटन गर्दै अध्यक्ष ओलीले चुनावसम्म पुग्दा माधव नेपालको पार्टीमा खास कार्यकर्ता नै नरहने बताउँदै चुनावमा ३ प्रतिशत पनि कटाउने भविष्यवाणी गरेका हुन् ।

‘यो भविष्यवाणी लेखेर राख्नुस्, माधव नेपालको पार्टीले ३ प्रतिशत पनि कटाउँदैन, एक सिटसम्म जिताइदिनु । अब चुनावसम्म माधव नेपालको पार्टीमा खास कार्यकर्ता नै रहदैँनन् ।’ उनले नेकपा एकीकृत समाजवादी पार्टी देश बर्बाद पार्ने मध्ये एक पार्टी भएको दावी गरे ।

नेकपा एमालेबाट अलग्गिएर माधव नेपालले आफ्नो नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन गरेका थिए । तर, अध्यक्ष ओलीले नेकपा एसलाई हालसम्म पार्टी मानेका छैनन् । उनी माधव नेपालप्रति आक्रोशित बनेका छन् ।