बागलुङको निसीखोलामा बस दुर्घटनामा परि घाइते हुनेको सङ्ख्या २५ पुग्यो

बागलुङ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटनामा घाइते हुनेको सङ्ख्या २५ पुगेको छ । 
रुकुमपश्चिमबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस सोमबार साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । घाइतेलाई उपचारका लागि बुर्तिबाङ पठाइएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले जानकारी दिए । 

घर्तीले भने,‘घाइतेको उद्धार गरेर अस्पताल पठाएका छौँ । अर्का एक जनाको पनि मृत्यु भएको सुनिएको छ । पक्का भएको छैन । त्यो खबर पक्का हो भने मृतक ८ पुग्छ ।’ उनका अनुसार मृतकको पोष्टमार्टमका लागि अस्पताल लैजाने तयारी भइरहेको छ । उनले भने,‘सबैको शव संकलन भएको छ । कसैको पनि पहिचान खुलेको छैन,’ उनले भने, ‘पोष्टमार्टमका लागि अस्पताल लैजाने तयारी भइरहेको छ ।’घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।