नेपालले कतारसँग वार्षिक १३ अर्ब १९ करोड रुपैयाँभन्दा बढी व्यापार घाटा बेहोर्ने गरेको

काठमाडौँ  नेपालले कतारसँग वार्षिक १३ अर्ब १९ करोड रुपैयाँभन्दा बढी व्यापार घाटा बेहोर्ने गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष (२०७९/८०) मा नेपालले कतारसँग १३ अर्ब रुपैयाँभन्दा बढीको व्यापार घाटा बेहोरेको हो ।

तथ्याङ्कअनुसार कतारबाट नेपालमा गत आर्थिक वर्ष १३ अर्ब ३० करोड रुपैयाँको सामान आयात भएको थियो । जबकि, नेपालबाट ११ करोड रुपैयाँको मात्रै निर्यात भएको थियो । यस अनुसार १३ अर्ब १९ करोड ६२ लाख रुपैयाँको व्यापार घाटा नेपालले बेहोरेको हो ।

कतारबाट नेपालमा मुख्यगरी सुन आयात हुने गरेको छ । गत आर्थिक वर्षभरिमा कतारबाट ११ अर्ब १६ करोड रुपैयाँको सुन र सुनबाट बनेका गहना आयात भएको थियो । यसपछि १ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको युरिया मल आयात हुँदा ३५ करोड रुपैयाँभन्दा बढीको पोलिथिन आयात भएको छ ।

५ करोड रुपैयाँको स्मार्टफोन र १ करोडभन्दा बढीको टेलिभिजन आयात भएको विभागको तथ्याङ्क छ । यता नेपालबाट भने कतारतर्फ न्यूनमात्रामा वस्तु निर्यात हुने गरेको छ । तथ्याङ्कअनुसार ३९ प्रकारका वस्तुमात्रै कतार निर्यात हुने गरेको छ ।

गत आर्थिक वर्षभरिमा नेपालबाट कतारतर्फ २१ लाख रुपैयाँको स्पोर्टस फूटवेयर, अन्य प्रकारका गार्मेन्ट, ३ करोड ७६ लाख रुपैयाँको कार्पेट, ७० लाख रुपैयाँको च्यवनप्रास, १ करोड ३४ लाख रुपैयाँको पास्ता निर्यात भएको छ । यसपछि, नेपालबाट अदुवा, क्याप्सिकम र कुरिलो समेत निर्यात हुने गरेको तथ्याङ्क छ ।

यस बाहेक चालु आर्थिक वर्ष २०८०/८१ को ९ महिनाको अवधिमा समेत नेपालले उल्लेख्यमात्रामा व्यापार घाटा बेहोरेको छ । तथ्याङ्कअनुसार यस अवधिमा नेपालले कतारसँगको व्यापारमा १ अर्ब ४४ करोड ३२ लाख रुपैयाँ व्यापार घाटा बेहोरेको छ ।

यस अवधिमा नेपालबाट जम्मा ९ करोड १९ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । जबकि कतारबाट १ अर्ब ५३ करोड ५१ लाख रुपैयाँको वस्तु आयात भएको छ । तथ्याङ्कअनुसार चालु वर्षको यो अवधिमा १२ करोड रुपैयाँभन्दा बढीको बिटुमिन कतारबाट आयात भएको छ ।

यस्तै २ करोड ७४ लाख रुपैयाँको ‘रेयर ग्यास’ आयात हुँदा १० करोड रुपैयाँको पोलिथिन र गार्मेन्ट निर्यात भएको तथ्याङ्क छ । ९६ करोड रुपैयाँभन्दा बढीको सुन र सुनबाट बनेका गहना आयात भएका छन् । यस अतिरिक्त उल्लेख्य मात्रामा गार्मेन्ट, महिलाको पहिरन लगायत वस्तु आयात भएका छन् ।

यस्तै चालु वर्षको ९ महिनाको अवधिमा पास्ता २ करोड ४७ लाख रुपैयाँको निर्यात भएको छ । यस्तै २ करोडको कार्पेट र गार्मेन्ट लगायतका वस्तु निर्यात हुने गरेका छन् । यस अवधिमा नेपालबाट ९ करोड रुपैयाँभन्दा बढीको वस्तु कतारमा निर्यात भएमध्ये धेरैजसो वस्तु तरकारी र गार्मेन्ट लगायतका रहेको तथ्याङ्कले देखाएको छ ।